निर्वाचन आयोग पुगेर जसपाको दुबै पक्षले भने : हामी मिल्न सक्दैनौं, अलग गराई दिनुस्

दियो पोस्ट  

काठमाडौं, २२ असार । पार्टीभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुट्ने नै भएको छ ।

विवाद समाधान गर्नका लागि निर्वाचन आयोगले दुबै पक्षलाई बोलाएको छलफलमा पार्टीभित्र सँगै रहने अवस्था नरहेको भन्दै प्रकृया पु¥याएर अलग गर्न आग्रह गरिएको छ ।

मेलमिलापको माध्यमबाट समस्या समाधान गर्ने प्रयास स्वरुप आयोगले बोलाएको छलफलमा दुबै पक्षका शीर्ष नेताहरु सहभागी थिए ।

सहभागी नेताहरुले अब आफूहरु एक भएर जान नसक्ने अवस्था आइसकेको र त्यसका लागि निर्वाचन आयोगलाई नियमानुसार अलग गराइदिन पनि आग्रह गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको गन्तव्य नै अगल भएको कारण संगै बस्न नसकिने बताए । त्यसपछि महन्थ ठाकुर पक्षले पनि पार्टीभित्र किचलो गरेर बस्न नसक्ने अवस्था रहेको कारण छुट्टाछुट्टै रहने निर्णय गरेको बताइएको छ ।

दुई पक्षको भनाईपश्चात अब निर्वाचन आयोगले सोही अनुसारको प्रकृया थालनी गर्नेछ । पार्टीको आधिकारिकता दाबी गर्न दुबै पक्षलाई आह्वान गरिएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्य संख्या बहुमत पुगेको समूहलाई आधिकारिकता प्रदान गरिने छ भने नपुगेको पक्षले अर्को दल बनाउनेछ ।

जसपाको केन्द्रीय कार्याकारिणी समिति ५१ सदस्यीय थियो । जसमा उपेन्द्र –बाबुराम पक्षको बहुमत छ । तर महन्थ पक्षले पार्टीको पहिलो वरियताका अध्यक्षलाई केन्द्रीय कार्याकारिणी समिति हेरफेर गर्न सक्नेअ धिकार दिएकोले नामावली हेरफेर भईसकेको जिकिर गरेको छ ।

यद्यपी अव आयोगले दिने निर्णय निर्णायक हुनेछ ।