दियोपोस्ट संवाददाता,
धादिङ, २२ असार । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ स्थित बाघमारा सामुदायीक वनमा स्क्याभेटर प्रयोग गरेरै बालुवा तस्करी हुने गरेको छ ।
वडाध्यक्ष लक्ष्मण खतिवडाको मिलेमतोमा ठेकेदारहरुले सामुदायीक वनमै स्क्याभेटर प्रयोग गरेर बालुवा तस्करी गर्दै आएको स्थानियबासीले दियोपोस्टलाई बताए ।
ठेकेदार भरत गिरी र वडाध्यक्ष खतिवडाले विगत ४ दिनदेखि वनमै डोजर र स्क्याभेटर लगाएर बालुवा तस्करी गरेको स्थानियको आरोप छ ।
बाघमारा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष चेत बहादुर मगरले खोलाले बगाउन लागेको बालुवा खेल मैदान बनाउनका लागि दिएको बताए ।
उनका अनुसार बालुवा निकाल्न जिल्ला वन कार्यालयसँग कुनै अनुमति लिइएको छैन । स्थानिय सामुदायीक वन उपभोक्ता समतिबाट पनि अनुमति लिएको छैन ।

वडाध्यक्ष खतिवडासँग यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले शुरुमा बालुवा नै ननिकालेको भन्दै गलत सुचना दिएको बताए । तर, पछि भने आफूहरुले खेल मैदान बनाउन ४/५ टिप मात्रै बालुवा निकालेको स्विकार गरे ।

उनका अनुसार उक्त स्थानमा बालुवा निकाल्न वन कार्यालयबाट अनुमति लिएको छैन । ‘स्थानियहरुले पनि लगिरहेको ठाउँ हो । हामीले खेल मैदान बनाउँदै छौँ,’ खतिवडाले भने,‘त्यस्तो होइन तपाईंलाई कसले गलत सुचना दिएछ ।’
तर, स्थानियबासी भने वडाध्यक्षको भनाईमा सहमत छैनन् । उनले अनुमति नै नलिई ठेकेदारलाई बालुवा बेचविखन गरेको स्थानियको आरोप छ ।