सिद्धलेकमा कालोपत्रे गरेको एकमहिनामै भत्कियो सडक : कामचोर ठेकदारसँग सिलवालको कनेक्सन !

दियोपोस्ट संवाददाता

धादिङ, २५ असार । ठेकेदारको लापरबाहीका कारण धादिङको सिद्धलेक गाँउपालिका वडा नं.४ स्थित् एक सडकमा गरिएको कालोपत्रे एक महिना नपुग्दै उप्किएको छ ।


संघिय सांसद विकास कोष, प्रदेश सरकार र सिद्धलेक गाँउपालिकाको साझेदारीमा करिव ३ करोड लागतमा गत जेठ अन्तिम साता गरिएको बुंङचुङ – आरूबास – भेडाबारी – मैदान – कमलाबारी (खीन बहादुर थापा) मार्गमा गरिएको कालोपत्र पिच ठेकेदार कम्पनीको लापरबाहीका कारण उप्किएको स्थानियहरुले बताएका छन् ।


गत जेठ २४ गते गरिएको उक्त सडकमा गरिएको कालोपत्रेको अधिकांश भाग चर्किने, भत्किने भएपछि स्थानिय युवाहरुले उक्त सडकमा ठेकेदारको बद्मासीका कारण सडकमा गरिएको कालोपत्रे भत्किएको प्रमाण स्वरुप भन्दै सामाजिक संजाल मार्फत् एक भिडियोसमेत सार्वजनिक गरेका छन् ।


उनीहरुले उक्त सडकमा कालोपत्रे गर्न संघिय सांसद बिकास कोष, प्रदेश सरकार र सिद्धलेक गाँउपालिकाको साझेदारीमा करिव ३ करोड विनियोजन भएपनि ठेकेदार गाँउपालिकाका प्राविधीक कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा कमशल सामाग्री प्रयोग गरेको आशंकासमेत ब्यक्त गरेका छन् ।


उक्त सडक कालोपत्रे गर्न ओम श्रेष्ठ कन्ट्रक्सनले ठेक्का पाएको थियो । उक्त कन्ट्रक्सनको बदमासीकै कारण महिना दिन नबित्दै कालोपत्रे उप्किएको स्थानियहरुको आरोप छ । उनीहरुका अनुसार उक्त कन्ट्रक्सनले कालोपत्रे गर्दा अलकत्राको मात्रा थोरै हालेको र अन्य मापदण्ड पुरा नगरेको आरोप लगाएका छन् ।


कालोपत्रेको ठेक्का पाएको ओम श्रेष्ठ कन्ट्रक्सनलाई गत आर्थिक बर्ष ०७६÷७७ को आन्तरिक आयकरको ठेक्का बापतको गाँउपालिकालाई बुझाउनुपर्ने २ बरोड रकमसमेत गाँउपालिकाले मिनाहा गरिदिएको थियो । गाँउपालिकाले ऐनबिपरित ठेकेदार कम्पनीलाई जवरजस्त ठेक्का बापतको रकम छुट दिएको भन्दै स्थानियले बिरोध गरेपनि गाँउपालिका अध्यक्षले भने उक्त रकम मिनाहा गरिदिएका थिए ।


तर कालोपत्रे गर्ने ठेक्कामा पनि गाँउपालिकाले सोहि कम्पनी छनोेट गर्नु गाँउपालिकाले छनोेट गरेको कम्पनीले कमसल सामाग्री प्रयोग गरी कालोपत्रे उप्किनुले उक्त ठेक्कामा पनि गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल लगायतका अन्य जनप्रतिनिधी र गाँउपालिकाका ईन्जिनियरको मिलेमतो प्रष्ट देखिएको उनिहरुको आरोप छ । यस विषयमा गाँउपालिका अध्यक्ष सिलवालले भने कुनै चासो दिएका छैनन् ।


आश्चर्य त के छ भने केहीदिन अघि गाउँपालिका अध्यक्ष सिलवाल र पूर्व सांसद भूमि त्रिपाठी अनुगमनमा गएका थिए । उनीहरुले यो सडकमा बसेर तस्विर खिचेर सार्वजनिक गरेका थिए ।


ओम श्रेष्ठ कन्स्ट्रक्सनका मालिक बाबुकृष्ण श्रेष्ठ हुन् । उनलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा उनले आफुले बुङचुङ क्षेत्रमा कालोपत्रे गरेको र अन्य क्षेत्रमा कसले गरेको थाहा नभएको नाटकीय जवाफ दिए ।

सम्बन्धित खबर