प्रभु बैंकमा सिइओको बद्मासी : ससुरा समलग्न मेडिकल कलेजलाई डेढ अर्ब ऋण दिएको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त प्रभु बैंकमा उच्च तहका व्यक्तिले आफन्त र नातागोताको नाममा अर्बौं ऋण अपचलन गरेको पाइएको छ ।


प्रभु बैंकका सिइओ अशोक शेरचनले आफन्त र नातागोता समलग्न रहेको एक मेडिकल कलेजलाई एक सय ५० करोडभन्दा बढी रकम ऋण दिएको खुलाशा भएको हो । सिइओ शेरचनले बैंकबाट ऋण अपचलनकै लागि सेटिङमै ती आफन्त र नातागोताका व्यक्तिलाई जानकी मेडिकल कलेजको नेतृत्वमा लगेको उच्च स्रोतको दाबी छ ।


धनुषाको रमदैयामा अवस्थित जानकी मेडिकल कलेज सञ्चालकहरु विभिन्न ठगी मुद्दामा मुछिएपछि कलेज नै धराशयी बन्दै गएको छ । राम जानकी हेल्थ फाउन्डेशन प्रा.लीको नाममा कम्पनि दर्ताको रकर्डमा रहेको यो कलेजले विद्यार्थी भर्नामा चरम ठगी गरेको भन्दै डा. गोविन्द केसीले सम्बन्धन नै खारेज गर्न माग गर्दै पटक पटक अनसन बस्दै आएका थिए ।

विभिन्न सहायक कम्पनि खडा गरेर सबा २ अर्बभन्दा बढी ऋण अपचलन गरेको अभियोगमा राष्ट्र बैंकको कारबाहीमा परेको प्रभु बैंकका उच्च अधिकारीहरुले आफन्त र नातागोताको नाममा समेत ऋण अपचलन गरेका छन् ।


सहायक कम्पनि खडा गरेर ऋण अपचलन गरेको अभियोगमा राष्ट्र बैंकले कारबाही अघि बढाएपछि अध्यक्ष देवि भट्टचन पदबाट बाहिरिएका थिए ।


तर, सिइओ अशोक शेरचनलाई कारबाही गर्नुको सट्टा राष्ट्र बैंकले उन्मुक्ति दिएको थियो । उनै शेरचनले धराशायी बनेको जानकी मेडिकल कलेजमा आफन्तको नाममा शेयर खरिद गरेर डेढ सय करोड अर्थात एक अर्ब ५० करोड रुपैयाँ ऋण अपचलन गरेको स्रोत बताउँछ ।


राम जानकी हेल्थ फाउन्डेशनका तत्कालिन अध्यक्ष ओम प्रसाद पाण्डे लगायतका अधिकारी विभिन्न ठगी मुद्दामा पक्राउ परेपछि नाटकीय ढंगबाट शेरचनका आफन्तहरुको नाममा शेयर खरिद गरिएको थियो ।


कम्पनि रजिष्टार कार्यालयको रेकर्ड अनुसार धन बहादुर शेरचन, हरिकृष्ण भट्टचन र हरिमान लामा लगायतको समुहले जानकी मेडिकल कलेजको नाममा शेयर किनेका थिए । धन बहादुर अशोककै आफन्त पर्ने व्यक्ति हुन भने हरिकष्ण भट्टचन उनको नाताले ससुरा पर्ने व्यक्ति हुन् । कम्पनि रजिष्टारको रेकर्ड अनुसार २०७२ साल जेठ २२ मा हरिमान लामा, हरिकृष्ण भट्टचन र धन बहादुर शेरचन अर्थात डिबी शेरचनको नाममा शेयर खरिद भएको थियो ।

हरिमानको नाममा १६ लाख थान शयर देखिन्छ । भट्टचनको नाममा २९ लाख ५० हजार ८ सय ६० कित्ता शेयर देखिन्छ । उनले यो शेयर खरिद गरेबापत २९ लाख ५० हजार ८ सय ६० रुपैयाँ नै रकम बुझाएको रेकर्डमा उल्लेख छ । यद्धपी हरिमानले भने सोही शेयरबापत १६ करोड रुपैयाँ चुक्ता गरेको उल्लेख छ ।

तर, हरिमान त्यस्ता पात्र हुन् जसले नागरिक उडयन प्राधिकरणलाई नै २३ करोड रुपैयाँ तिर्न नसकेर फरार छन् । उनले प्राधिकरणको त्रिभुवन विमानस्थल कार्यालयलाई दिएको ७ करोड रुपैयाँ बराबरको चेक नै बाउन्स भएपछि प्रहरीको ‘फरार’ सुचीमा छन् ।

हरिमान लामा र उनका भाई गणेशमान लामा ठगी मुद्दामा फरार भएपछि पछिल्लो समय फेरी जानकी मेडिकल कलेजको शेयर ओम प्रसाद पाण्डे ‘ओपी’ लगायत समुहको नाममा हस्तान्तरण गरिएको छ ।


जानकी मेडिकल कलेजले मेडिकल शिक्षामा चरम ठगी गरेपछि सरकारले कोटामा समेत कडाई गरेपछि अहिले धरासायी बन्दै गएको छ । धरासायी बन्दै गएको कलेजले बैंकलाई ऋण तिर्न सकेको छैन । बैंकले ऋण उठाउनुको सट्टा ऋण थप गरिरहेको उच्च स्रोतले बतायो ।


सामान्य ऋणीलाई १ हजार रुपैयाँ समयमा नबुझाउँदा ऋणीको नाम कालोसुचीमा राख्ने प्रभु बैंकले जानकी मेडिकल कलेजले भने डेढ अर्ब ऋण नतिर्दा पनि कुनै ताकेता गरेको छैन । यद्धपी बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन भने जानकीमा सुधार भइरहेको दाबी गर्छन् ।


चार वर्षमा ५ पटक शेयर किनबेच फरिएन केलजको रुप !

जनकपुरका प्रसिद्ध डाक्टर रामानन्दन सिन्हाको नेतृत्वमा वि.सं. २०६० सालमा सञ्चालन गरिएको थियो जानकी मेडिकल कलेज (जेएमसी) । २०७१ सालमा पठनपाठन नभएको भन्दै विद्यार्थीले सामूहिक रूपमै सञ्चालक ओम प्रकाश पाण्डेलगायत विरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

कलेजले अग्रिम शुल्क लिएर शर्तबमोजिम चिकित्सा विद्यार्थीलाई पठनपाठनको बन्दोबस्त मिलाउन नसकेपछि विद्यार्थीले महिनौँ आन्दोलन गरे । अन्त्यमा सञ्चालक समितिका सदस्यलाई स्थानीय प्रशासनले पक्राउ गरेको थियो ।

पक्राउ पछि उनीहरुले क्षतिपूर्ति तिरेका थिए । उनै पाण्डेले जानकीको शेयर हरिमान लामा, गणेशमान लामा, धनबहादुर शेरचन र हरिकृष्ण भट्टचन लगायत समुहको नाममा शेयर बेचेका थिए ।

उनीहरु कलेजको नेतृत्वमा आएपछि नै बैंकबाट डेढ सय करोड ऋण निकालिएको थियो । तर, ऋण निकालेपछि कलेजको सुधार गर्नेतिर भन्दा पनि शुल्क असुली तिरै शेयरधनीहरु लागेका थिए । कर्मचारीलाई समेत १५ महिना सम्म तलब भत्ता नदिएपछि आन्दोलन र अमरण अनसन बसेका थिए ।

आफन्तको नाममा ऋण देखिएपछि राष्ट्र बैंकले छानबीन थालेको थियो । छानबीनकै क्रममा प्रभुका सिइओ अशोक शेरचनका आफन्तहरु नाटकीय ढंगबाट शेयर बेचेर बाहिरिएका छन् । आश्चर्य त के भने ठगी मुद्दा खेपेका तत्कालिन ओम प्रसादले नै सबै शेयर खरिद गरेका छन् ।

कलेजको बेथितिकै कारण कारबाहीस्वरूप नेपाल मेडिकल काउन्सिलले दुई वर्षसम्म जेएमसीलाई शुन्य कोटा दिएको थियो । नेपाली विद्यार्थीले पढ्न छाडेपछि भारतीय विद्यार्थी भर्ना गरेर कलेज सञ्चालन गरिएको छ ।

पाण्डे भन्छन्,–‘सय करोड मात्रै बाँकी छ’


जानकी मेडिकल कलेजका मालिक ओम प्रसाद पाण्डेले आफूहरु र प्रभु बैंकबीच कुनै नाजायज सम्बन्ध नरहेको बताए । यद्धपी आफ्नो कार्यकालमा कुनै ऋण नलिएको समेत उनले बताए ।

‘हामीे ऋण तिरेका छौँ । अब त्यस्तै सय करोडको हाराहारीमा बाँकी होला । त्यो पनि शेयर खरिद कै क्रममा भएको कारोबार हो,’ पाण्डेको दाबी छ,‘मेरो कार्यकालमा तिर्ने काम भएको छ ।’