सुर्य थापाका कारण एमाले एकता भाँडियो : माधव नेपालले भने,‘२३ जना एक ढिक्का छौँ’

दियो पोस्ट  

काठमाडौं, २८ वैशाख । नेकपा एमालेको विवाद समाधानका लागि आईतबार भएको १० बुँदे निर्णयबारे एमाले बरिष्ठ नेता माधव नेपालले प्रतिक्रिया दिएका छन् ।


नेकपा एमालेको कार्यदल स्तरमा भएको सहमतिलाई व्याख्या गर्ने सवालमा प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले सहमतिको मर्म विपरित अभिव्यक्ति दिएको नेपालको आरोप छ ।

‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ,’ नेपालले भनेका छन्,‘ अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’


प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले ‘मच्चियो मच्चियो थच्चियो’ भन्दै १ सय ४६ बाट घटेर १ सय २३ जना सांसद मात्रै देउवाको साथमा रहेको र सर्वोच्चबाट नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमत्ती बनाउन परमादेश नआउने र संसद पुनस्थापना पनि नहुने अभिव्यक्ति दिएका थिए ।

सिफारिस