काठमाडौं, ३० असार । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका काँग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।
ललितानिवास जग्गा प्रकरणमा गच्छदारलाई यसअघि नै अदालतमा उपस्थित हुन भनिएपनि उनी सम्पर्कविहीन बनेको थिए । प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएलगत्तै उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
गच्छदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।
सोही प्रकरणमा मुछिएका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ भने २ करोड धरौटी बुझाएर छुटिसकेका छन् ।