काठमाडौं, ३१ असार । उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज तीन सिडिओहरु छलफलमा बस्दै छन् । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसपटकको बैठकमा काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दुरीका सार्वजनिक यातायात बढाउने सम्बन्धमा छलफल हुने उनले बताएका छन् ।
उपत्यकामा सबै सार्वजनिक सवारी साधनलाई खुला गरिएपनि उपत्यका बाहिर जाने सवारी साधनहरु भने बन्द नै छन् ।
उपत्यकामा सबै किसिमका सवारी साधन खुलाउँदा लामो दुरीका सवारी साधनमाथि सरकारले अन्याय गरेको भन्दै यातायात व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् । यस सम्बन्धमा छलफलबाट निष्कर्ष निकालिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।
लामो दुरीका सवारी साधन खुलाउने कि नखुलाउने, जोर बिजोर प्रणाली अन्तर्गत खुलाउने या सबै खुलाउने भन्ने विषयमा बैठकले निर्णय गर्नेछ ।
यसअघि जारी भएको निषेधाज्ञा आज राति १२ बजेपछि सक्किँदै छ ।