काठमाडौँ, १ साउन । निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारका सबैभन्दा ‘बफादार’ मन्त्री कृष्ण गोपाल श्रेष्ठले कलेजहरुबाट घुस खाएको आरोप लागेको छ ।
निवर्तमान शिक्षामन्त्री श्रेष्ठले मन्त्रीबाट विदा हुनु अघिल्लो दिन नै ९ वटा कलेजबाट प्रति कलेज १५ लाख रुपैयाँका दरले शुल्क उठाएको स्रोतले जनाएको छ ।
विदेशी सम्बन्धनमा खुलेका कलेजहरूको स्विचिङ (ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन) मा श्रेष्ठले आर्थिक चलखेलका आधारमा सहमति दिएको पाइएको हो ।
श्रेष्ठले पैसा उठाउने जिम्मा भने उनकै सचिवालयमा कार्यरत प्रेस सल्लाहाकार ईश्वरराज ढकाललाई दिएको स्रोतले जनाएको छ । ढकालले नै प्रति कलेज १५ लाख रुपैयाँका दरले शुल्क असुली गरेको स्रोतले जनाएको छ । विहिबार प्रकाशित कान्तिपुर दैनिकले शिक्षामन्त्री श्रेष्ठले ९ वटा कलेजबाट आर्थिक लाभ लिएको समाचार सार्वजनिक गरेको थियो ।
मापदण्ड नै नपुगेका ती कलेजहरुलाई ढकालको नेतृत्व लाखौँ असुलेर स्विचिङ गरिएको पाइएको हो ।
प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्च अदालतले अपदस्त गरेको भोलीपल्टै शिक्षामन्त्री श्रेष्ठले जाँदाजाँदै असुली गरेरै बाहिरिएका हुन् । शिक्षामन्त्री श्रेष्ठले केपी ओलीलाई ‘कुन माइकालालले हटाउँछ ? केपी ओली पेले हो’ भन्ने अभिव्यक्ति दिएका थिए । तर, सर्वोच्च अदालतले ओलीलाई असंवैधानिक प्रधानमन्त्री भन्दै पदबाटै अपदस्त गर्ने फैसला गरिदिएपछि श्रेष्ठले परमादेश दिएकै भोलीपल्ट मन्त्री पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको शिक्षामन्त्रालय स्रोतले जनाएको छ ।
ती कलेजहरुले चार वर्षअघि नै स्विचिङका लागि आवेदन दिएका थिए । तर, मापदण्ड नपुगेको भन्दै रोकिएको थियो । तर, लकडाउनमा कलेज नै बन्द रहेको बेला शिक्षामन्त्री श्रेष्ठ र उनका सचिवालयमा कार्यरत ढकालले पैसा उठाउने सुनियोजित योजनामा अनुगमन गराएका थिए । अनुगमनपछि पैसा अससुलेर स्विचिङको अनुमति दिइएको स्रोतले जनायो । विश्व विद्यालयलाई बुझाउनुपर्ने कर समेत छलेर उनीहरुलाई सम्बन्धन दिएको पाइएको छ ।
स्विचिङका लागि शिक्षामन्त्रालयमा १५ वटा कलेजले आवेदन दिएका थिए । शिक्षामन्त्री श्रेष्ठले घुस बुझाउने ९ वटा कलेजलाई मात्रै सम्बन्धन दिएका हुन् । मापदण्ड नै नपुगेका ती कलेजहरुको नाम, विश्व विद्यालयको सम्बन्धन र स्थान परिवर्तन भएको छ ।
ढकालले उच्च शिक्षा महासाखाका उपसचिव लक्ष्मी बहादुर खड्काको मिलेमतोमा फिरौती शैलीमा रकम उठाएको एक कलेज सञ्चालकले बताए । ढकालले ‘मन्त्रीलाई चुनाव खर्च’ भन्दै प्रति कलेज १५ लाख भन्दा बढी असुली गरिएको एक कलेज सञ्चालकले बताए ।
मन्त्रालयको सेटिङमा फिस्टेल माउन्टेल कलेज पोखरा, आईएसएमटी कलेज काठमाडौं÷विराटनगर, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ललितपुर र एनटीपी कलेज पोखराले विश्वविद्यालय र स्थान परिवर्तन गरेका छन् । यी कलेजहरूले मापदण्ड नपुगेका कारण यसअघि स्विचिङको अनुमति पाएका थिएनन् । पहिले अनुमति पाएको विदेशी विश्वविद्यालयसँग सम्बन्ध बिग्रेपछि तिनलाई तिर्नुपर्ने लाखौं कर छल्न अधिकांश कलेजले विश्वविद्यालय फेर्ने गरेका छन् ।
मापदण्ड परिवर्तनमा ढकालकै असुली आतंक !
गत चैत्रमा पूर्वशिक्षामन्त्री श्रेष्ठले नीजि शैक्षिक माफियालाई फाइदा पुग्ने गरि मापदण्ड परिवर्तन गरिदिएका थिए । देशभर सञ्चालनमा रहेका ८३ वटा निजि कलेजलाई फाइदा पुग्नेगरि तत्कालिन मन्त्रिपरिषद्ले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ को अनुसूची परिवर्तन गरेको थियो ।
मापदण्ड खुकुलो बनाउन भन्दै शिक्षामन्त्री श्रेष्ठका प्रेस सहयोगी ढकालले असुली आतंक नै मच्चाएका थिए । अनुसुची मापदण्ड खुकुलो बनाउनका लागि ढकालले कलेज सञ्चालकसँग १ लाखदेखि ५ लाख रुपैयाँसम्म असुलेको खबर सार्वजनिक भएको थियो ।