काठमाडौं, १ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आवरणमा गुण्डागर्दीमा संलग्न रहेका गुण्डा नाइके सत्यमान लामालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको थियो । काभ्रेमा बुद्धचित्तको माला लुटपाटको घटनामा समलग्न रहने लामाले रकम नभएको चेक दिएर दर्जनौं व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्री छँदा नविना लामालाई हातमा लिएर लामाले ठगी धन्दा चलाउँदै आएका थिए । लामाविरुद्ध सुरज सापकोटा र रामकुमार थापा क्षेत्रीले क्रमशः महानगरीय प्रहरी बृत्त कमलपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंमा चेक बाउन्समा उजुरी दिएका थिए ।
लामाले २०७७ साल माघ २० गते क्षेत्रीको नाममा काटेको ७० लाखको चेक बाउन्स भएको हो भने सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि खोजी गर्दै आएको थियो ।
उच्च अदालत पाटनले लामाविरुद्ध पक्राउपूर्जी जारी गरेपछि लामा फरार भएका थिए । काभ्रे प्रहरीले उनलाई काभ्रेको रोशी गाउँपालिका कटुन्जेबाट पक्राउ गरेको हो । लामालाई काभ्रे प्रहरीले काठमाडौं पठाएको छ ।
उनीविरुरुद्ध काठमाडौं प्रहरीले मुद्दा चलाउने बताइएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ७ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।