प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने पक्का : देउवालाई १ सय ५१ सांसदको समर्थन !

दियोपोस्ट संवाददाता

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत पाउने पक्का भएका छन् । विश्वासको मत पाउने पक्का भएपछि उनले आजै विश्वासको मत लिने भएका छन् ।

अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ ।


प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा एक सय ४६ जना सांसदको हस्ताक्षरलाई आधार बनाउँदै सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न प्रमादेश दिएको थियो । यद्धपी देउवालाई प्रधानमन्त्री नियुक्त गनृ माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको हस्ताक्षरमा १४९ जनाको हस्ताक्षर थियो ।


गत असार २८ गते सर्वोच्चको आदेशपछि संसद पुनस्थापना र देउवा प्रधानममन्त्रीमा नियुक्त भएका थिए । उनले २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।


नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका देउवाले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

व्यवस्थापिका संसदमा कुल २ सय ७१ जना सांसद छन् । देउवालाई विश्वासको मतका लागि एक सय ३६ सांसदको आवश्यक पर्छ । संसदमा नेपाली कांग्रेसका ६१, माओवादीका ४८, जसपाका १२ र जनमोर्चाका एक गरि उनीसँग १ सय २२ सांसद छन् । जसपामा महन्त ठाकुर समुहका ६ सांसद थपिएको देउवा पक्षको दाबी छ ।

यति हुँदा देउवाको पक्षमा १ सय २८ जना हुनेछन् । माधव समुहका ८ जना संसदले विश्वासको मत दिए देउवाले विश्वासको मत पाउनेछन् । माधव नेपाल समुहका नेता विरोध खतिवडाले आफूहरुले देउवालाई विश्वासको मत दिने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । नेता रामकुमारी झाँक्रीले पनि संसदको ह्विीप नलाग्ने भएका कारण देउवालाई विश्वासको मत दिने बताएकी छिन् ।


धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वाेच्चले गरिसकेको छ । मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वाेच्चको फैसलामा उल्लेख छ । त्यसकारण प्रधानमन्त्री ओलीले संसदलाई ह््वीप लगाए उनले अदालतको अवहेलनाको मुद्दा खेप्नुपर्छ । माधव समुहका २३ सांसदले नै विश्वासको मत दिए देउवालाई एक सय ५१ सांसदको समर्थन प्राप्त हुनेछ ।

सम्बन्धित खबर