काठमाडौं, ३ साउन । नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीले संसदमा टेबुल गरेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिने सांसदहरु एमालेमा रहन नसक्ने घोषणा गरेका छन् ।
उनले माधव नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना रहेकाले यस्तो घोषणा गरेका हुन् ।
संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ ।
सोही कारण एमाले एकताको आधार ध्वस्त नबनाउन आग्रह गर्दै बैठकले एमाले सांसदहरुलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन गरेको हो ।