अनुसा थापा
काठमाडौं, ६ साउन । बर्दिबास घर बताउने चन्द्र बृढाथोकी बर्दिबासबाटै जम्बो हायस चढेर कोटेश्वर आए । हायसको लामो यात्रापछि उनीसँगै उनको परिवार थकित थियो । त्यसपछि उनी आफ्नो श्रीमती र बालबच्चासहित आफ्नो झोला बोकेर ट्याक्सीको खोजीमा लागे ।
ट्याक्सी चालकसँग भाडाको बार्गेनिङ चल्यो । घण्टौँसम्मको बार्गेनिङपछि कोटेश्वरबाट ४ सय रुपैयाँ तिरेर चन्द्रको परिवार शंखमुलसम्म लागे । कोटेश्वरबाट शंखमुलसम्म साढे १ किलोमिटर आसपासको दूरी छ । यति छोटो दूरीको भाडा यति महँगो तिरेर हिँड्नुपर्ने बाध्यतामा चन्द्र मात्रै होइनन् अधिकांश व्यक्ति छन् ।
दैनिक हजारौँका संख्यामा नागरिकहरु ठगीको शिकार भइरहेका छन् । छोरीको स्वास्थ्य परिक्षणका लागि सिभिल अस्पताल हिँडेका चन्द्र श्रेष्ठको हालत पनि उस्तै थियो । घट्टेकुलो बस्ने उनी अस्पतालबाट बासस्थानसम्म जान ट्याक्सीलाई मिटरमा जान आग्रह गरिरहेका थिए । तर, ट्याक्सीवालाले ५ सय रुपैयाँ दिए मात्रै पुर्याइदिने भन्दै बार्गेनिङ गर्दै थिए ।
उपत्यकामा पछिल्लो समय ट्याक्सी चालकहरु मिटरमा हिँड्न अस्विकार गर्न थालेका छन् । फितलो ट्राफिक व्यवस्थापनका कारण यस्तो समस्या हुन थालेको हो । विगतका ट्राफिक प्रमुखहरु ट्याक्सी मिटरमा गुडे नगुडेको अनुगमन गर्न आफै निष्कन्थे । तर, महानगरिय ट्राफिक प्रहरी महासाखामा नयाँ नेतृत्व आएपछि यस्तो अनुगमन हुन छाडेको छ । अनुगमन गर्न छाडेपछि ट्याक्सी सञ्चालकहरु मनोमानी रुपमा भाडा असुली गर्न थालेका छन् ।
त्यसो त ट्याक्सी चढ्ने बित्तिकै १४ रुपैयाँ मिटरमा देखाइन्छ । न त उक्त ट्याक्सीमा पेट्रोल नै नै खर्च भएको हुन्छ न त यात्रृले कुनै सेवा सुविधा नै लिएका हुन्छन् । हजारौँ सर्वसाधरणसँग प्रति व्यक्ति १४ रुपैयाँ उठाउँदा हजारौँ ट्याक्सीले एकैसाथ करोडौँ ठगी गरिरहेका छन् ।