पूर्वएसपी विष्टकी पत्निको बयान : ‘मध्यरातमा घाँटी थिचेर मार्ने कोशिस गरेपछि घरबाट भागेँ’

diyopost.com
दियो पोस्ट  आइतबार, साउन १०, २०७८ | २३:४१:१३

दियोपोस्ट संवाददाता,


काठमाडौं, १० साउन । सात महिना अघि दुलही भएर भित्रिएको घर ! संगै जिन्दगी बिताउने कसम खाएर बिहे गरेकोे श्रीमान ! भाइ बहिनी जस्ता देवर देवरानी ! दिदी समानकी आमाजु र सेतै फुलेकी सासु आमा ! उनका लागि जिवन जिउने आधार यिनै थिए । मध्य रातमा श्रीमान र देवरले कुटेर घरबाट निकालिनु पर्ला भन्ने उनले कल्पना समेत गरेकी थिइनन् ।

तर, उनको जीवनमा त्यही भयो, जुन उनले सोँचेकी थिइनन् । ‘उनी’ अर्थात काठमाडौँ नारायणटारकी ४१ वर्षिया रञ्जना बिष्ट (नाम परिवर्तन) । पेशाले ब्युटिसियन रञ्जना यतिबेला सहारा बिहिन भएर एउटा शरिर लिएर भौतारिनु परेको छ ।


काठमाडौँ नारायणटार घर भएका राष्ट्रिय अनुसन्धान विभागबाट अवकाश प्राप्त एसपी रमेश बिष्टसंग ‘रञ्जना’को २०७७ माघ ३ गते मागी विवाह भयो ।

विवाह पछि कलंकीको फ्ल्याट छाडेर रञ्जना श्रीमानको घरमा बस्न थालिन । सुरुका दिनहरु राम्रै बितेका थिए । तर, केही समयपछि श्रीमानले वास्ता गर्न छाडे । सासुले बचन लगाउन सुरु गरिन् । देवरले ज्यान मार्ने धम्की दिन थाले । बिहे गरेको केही महिनामै देवरले उनलाई मरणासन्न हुने गरि कुटे ।

सात महिनाको अवधिमा उनले परिवारबाट पाएको अपमान र पीडाहरुको पहाडले थिचिनु परेको लामो श्रङ्खला छ । बिहे गरेको दिनदेखि उनी घरभित्रै बन्धक भइन् । बाहिर निस्किन र साथीसंगीसंग भेटघाट गर्न बन्देज लगाइयो । आवश्यक परेको सामान किनमेल गर्न र मन लागेको खानामा कटौती गरियो ।

‘कहिले काहीँ आफन्तलाई बोलाएर मिठो मसिनो बनाएर खाऔँ न भन्दा रिसाउने, बाँढीचुँढी खानु पर्छ भन्ने भावना नै छैन रहेछ । अलिकति बढी खाना पकाउँदा पनि सकिन्छ भनेर लोभ गर्ने उसको बानीले मलाई निकै अप्ठेरो भयो,’ रञ्जनाले रमेशको बानीबाट कथाको पोयो खोलिन् ।
रञ्जना कुनै पनि हालतमा रमेशलाई साथ दिन चाहान्थिन् । तर रमेश भने रञ्जनासंग सहकार्य गर्न खोज्दैनथे ।

श्रीमान-श्रीमतीबीचको सानो–तिनो कुरा पनि आमा, भाई र बुहारीसंग गर्थे । यही कुराले दुबैजनाबीच खटपट सुरु भएको थियोे । फलस्वरुप उनीमाथि शारिरिक र मानशिक यातना सुरु भयो ।


यहि जेठ मसान्तको रात रञ्जनामाथि कुटपीट भयो । रञ्जनालाई आफ्नै देवर नाता पर्ने सुदिपजंग विष्टले मरणासन्न हुने गरि कुटे । ‘रातको करिब ८ बजेको हुँदो हो, म सोफामा बसेर मोबाइलमा फोटो हेर्दै थिएँ । मेरो श्रीमान किचन पट्टीको ढोकानिर उभिएर ‘प्लीज भैया न’जा, प्लीज भैया त्यसो नगर’ भन्दै हल्ला गरिरहेका थिए ।

के भएको रहेछ भनेर म किचन तिर गएँ । मेरो देवर (सुदिपजंग बिष्ट) लाई मेरो श्रीमानले किचनको ढोकानेर छेकेर राखेका थिए । सुदिपले जंगिदै मुख छाडे । छोडिदिस्यो दाई, यो रण्डीलाई आज नमारी छाड्दिन । मैले बल्ल बुझेँ, देवर त मलाई मार्न पो आएका रहेछन्,’ बोल्दा बोल्दै रञ्जनाका आँखामा आँसु टिल्पिलाए ।


पछ्यौरीको सप्कोले आँशु पुछ्दै लामो स्वास तानेर घटना विवरण थपिन्, ‘भाइ होसमा थिएनन् । मलाई देख्ने बित्तिकै उनले (सुदिपजंग) मुख छाड्दै म माथि झम्टिए । मेरो कपालमा समातेर मलाई भुँइँमा पछारे । मेरो मुखमा मुक्का बर्साए । छातीमा मुड्की बजारे । हात समातेर मलाई उम्किन दिएनन् । मेरो घाँटी थिँचेर मलाई मार्ने प्रयास गरे ।

मैले त्यहीँ पिसाब फेरेछु । पिसाबले मेरो कपडा पुरै भिजेको थियो । तर, मलाई छुटाउन कोही आएन । उनीहरु चार जना दाजु भाई थिए, तर मेरो पक्षमा बोलिदिने कोही पनि थिएन । म मुस्किलले सुदिपको पन्जाबाट उम्किए । म माथि देवरले आक्रमण गर्दा पनि मेरो श्रीमानले मेरो बचाउ गरेनन्, बरु उल्टै भाइलाई साथ दिए र रातको करिब ९ बजेतिर मलाई घरबाट निकालिदिए ।’


असारको रात, वर्षातको समय, कोरोना महामारी र निरन्तरको लकडाउन । न त परिस्थिति उनको अनुकुलतामा थियो, न त कतै जाने ठाउँ नै । रातमा उनी हिँड्दै गोठाटारस्थित जम्बुडाढा प्रहरीचौकीमा पुगिन् । दिदीको ज्वाँइ नाता पर्नेलाई फोन गरेर त्यहीँ बोलाइन् । केही बेरमा ज्वाँइ आए । ज्वाँइ आएपछि बल्ल उनले शान्तिको स्वास फेरिन् ।

एक छिनपछि प्रहरी चौकीमा कुटपीट गर्ने बिष्टका घरका मान्छेहरु आए । रमेश र उनका परिवारले प्रहरी चौकीमै आफ्नो बेइजत गरेको उनी बताउँछिन् । भन्छिन्, ‘रमेशका घर पट्टीका सबै मान्छे त्यहाँ आएका थिए । तर, ज्वाँइ बाहेक मेरो आफ्नो कोही थिएनन् । प्रहरी चौकीमा मेरो बेइजत गरियो, मलाई मानशिक सन्तुलन गुमाएकी महिला भनेर चिनाइयो , यती हुँदा पनि प्रहरीले केही बोलेन ।’


देवरको कुटाई र चोटका कारण थलिएको घाइते शरिर देखेर पनि प्रहरीले पीडककै पक्ष लिएको उनको आरोप छ । त्यो रात प्रहरीले आफ्नोे जाहेरी दर्खास्त लिन नमानेको उनी बताउँछिन् । ‘मलाई देवरले ज्यान मार्ने हेतुका साथ आक्रमण गरेका हुन् । मेरो शरिरमा चोट छँदैथियो, म पीडित हुँ भन्ने पनि प्रहरीलाई थाहा थियो, तर प्रहरीले मेरो उजुरी दर्ता गर्न मानेनन्,’ उनी भन्छिन्, ‘प्रहरी प्रशासन पीडितका लागि होइन रहेछ, रमेशले म पुग्नु भन्दा अघि नै प्रहरीलाई कल गरेर म प्रहरीकहाँ जान लागेको र उजुरी नलिनु भनेर जानकारी गराई सकेका रहेछन् । त्यसैले पनि प्रहरीले मेरो उजुरी दर्ता गर्न नमानेको रहेछ । न्याय ठुलाबढाका लागि मात्र हुँदोरहेछ ।’


ज्वाँइले दवाब दिए पछि मात्र प्रहरीले ठाडो निवेदन दर्ता गरेको उनी बताउँछिन् ।


रमेशको परिवारले मिल्ने भन्दै ज्वाँई मार्फत प्रहरीमा जाहेरी नदिन दवाब दिएको उनको भनाइ छ । देबरले कुट्दा लागेका कैयौँ चोटहरु उनको शरिरमा आलै थिए । उनी भित्रैदेखि कमजोर भएकी थिइन् । उनको उपचारका लागि न त कसैले पहल गर्यो, न त प्रहरीले नै उनलाई न्याय दियो ।
‘यस्तो जिन्दगी जीउनु भन्दा त बरु मर्नु नै बेश,’ रञ्जनाले जीवनदेखिको हार पोखिन ।

घटना भएको दोश्रो दिन उनी बौद्धस्थित महानगरीय प्रहरी बृतमा पुगिन् । बौद्ध प्रहरीले पनि ‘मिलेर जानु पर्छ’ भन्दै घटनालाई आलटाल गर्दै आएको उनको भनाई छ । ‘म मिलेर जान सक्दिन, उनीहरुले मेरो ज्यान मार्नकै लागि म’माथि कुटपीट गरेका हुन् । उनीहरु मलाई मार्न चाहान्छन् । त्यसैले अपराधीलाई कानुन अनुसार कारबाही हुनुपर्छ, मलाई न्याय दिइनुपर्छ,’ उनको अडान छ । यता महानगरीय प्रहरी बृत्त बौद्धका तत्कालिन डिएसपी नविन कार्कीले पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै पीडकलाई साथ दिएको उनको आरोप छ ।


‘मलाई कुटपीट गर्ने र अन्याय गर्ने देबरहरु प्रहरी कार्यालयमा रहेको महिला कर्मचारीको कुर्सीमा बसेका थिए, त्यो दृश्यले पनि थाहा भयो कि प्रहरी उनीहरुको पक्षमा छन् । मैले प्रहरीमा उजुरी दिएपछि उनीहरु निकै रिसाएका छन् रे, म घर गएको खण्डमा मेरो ज्यान जोखिममा पर्न सक्छ । त्यसैले आफन्तको शरणमा परेको छु,’ उनले सुनाइन् ।

बौद्ध प्रहरीमा मिलेर जाने भन्ने बिषयमा कागजमा हस्ताक्षर गराइएको उनी बताउँछिन् । यो घटनाका बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाईने कागजातमा उल्लेख छ । यता विष्ट दाजु भाईले कुटपीटको घटना बाहिर ल्याए कारबाही गर्ने र ज्यानै लिने धम्की दिएका छन् । धम्कीकै कारण उनी २ महिनादेखि घर जान सकेकी छैनन् ।


यतिबेला रञ्जना बेवारिसे अबस्थामा छिन् । ‘बिहे गरेपछि मेरो गुँढ नै उठाएर लगे, अब म कहाँ जाउँ ? के खाउँ ? लगाउने कपडा छैन, मेरो सबै बन्दोबस्तीका सामान रमेशकै घरमा छन् । म बिचल्लीमा परेँ,’ उनले भनिन् ।

रमेशको पहिलो श्रीमतीको मृत्यु भएको ४ बर्षपछि दोस्रो श्रीमतीको रुपमा रञ्जना रमेशको घरमा भित्रिएकी थिइन् । श्रीमतीको मृत्युपछि एक्लिएका रमेश र नारीको अभावमा मुर्झाएको घरमा रञ्जनाको आगमनले हरियाली छाएको थियो । बिहेको भोलिपल्टदेखि घरको सरसफाई, रमेश र सासु–आमाकोे स्याहार–सुसारमा रञ्जनाले दिन बिताएकी थिइन् ।


घरपरिवारको खुसीका लागि उनले आफैलाई बिर्सेकी थिइन् । तर, परिस्थिति उनले सोँचे जस्तो भएन । हरेक दिन जसो रमेशले उनी माथि वचन लगाउन थाले । श्रीमतीका साना–तिना कुरा आफ्नी आमासंग गर्थे । आमाले पनि छोराको कुरा सुनेर बचन लगाउँथिन् । कान्छो भाई र बुहारीले समेत उनलाई घरेलु कामदारको रुपमा हेर्न थाले ।


गत फागुन महिनाको कुरा हो । बिहे भएको भर्खर एक महिना पुग्दै थियो । एकदिन रञ्जनाले रमेश र आमाबीच भइरहेको कुराकानी सुनिन् । रमेश भन्दै थिए, ‘यो आइमाईले मेरो खर्च मात्र गराउन खोज्छ, उसलाई हल्दीरामको दालमोठ चाहिने, बिटानीयाको बिस्कुट चाहिने, महंगो र ब्राण्डेड खालको सामान चाहिने, चामल पनि सस्तो नखाने रे, सस्तो चीज केही पनि हेर्दैन, हरेक कुरामा आफु जान्ने भएर मलाई सिकाउँछ ।’
छोराको कुरा सुनेर आमाले भनिन्, ‘तलाई चित्त बुझेको छैन भने उसको दिदी बहिनी बोलाऔँ, कुराकानी गरेर केही रकम दिएर पठाइदिए भैगो नी, त्यस्तीलाई किन राख्नु पर्यो?’ आमा–छोराबीचको वार्तलाप सुनेर उनी छाँगाबाट खसेजस्तो भइन् ।


‘यतिसम्म घटिया सोँच भएका मान्छे पो रहेछन्, अहिल्यै यस्तो कुरा गर्न थाले पछि बाँकी जीवन कसरी बिताउने होला ?’ उनलाई त्यतिबेलै यस्तो लाग्यो ।


राती उनले श्रीमानसंग दिउँसो आमासंग भएको वार्तलापका बारेमा कुरा झिकिन् । ‘म हजुरको श्रीमती होइन र ? के म बजारबाट किनेर ल्याएको सामान हो ? मन परे राख्ने, मन नपरे फिर्ता गर्ने, हजुर र आमाले किन यस्तो कुरा गरिबक्सेको ?’ रमेशले भने, ‘तँलाई मैले एग्रीमेन्ट गरेर ल्याएको हो, मसंग धेरै अधिकार खोज्ने होइन ।’


‘त्यसो हो भने, एग्रीमेन्ट गरेको कागज पनि हुन्छ होला नि? मन्दिरमा सिन्दुर हालेर बिहे गरेको चाँही के हो त ?’ रञ्जनाले प्रश्न गरिन् । रमेशले रञ्जनालाई झपार्दै भने, ‘सिन्दुर हालेर मात्र हुन्छ ? सात फेरो घुमेकै छैन, त्यस्तो पनि बिहे हुन्छ ? म त्यो बिहेलाई मान्दिन । मैले घरमा फ्रीमा बस्न दिएको छु, तँ मेरो घरको काम गर्ने नोकर जस्तै हो ।’

त्यसपछि उनी नाजवाफ भइन् ।


उनले आफ्नो बिगत सम्झिइन् । व्यावसाय सम्झिइन् । बिहे पूर्व देखाइएको सपना र आश्वासन सम्झिइन् । यि सबै सम्झेर उनी निकै बेर रोइन । रञ्जनाले टिभी नहेरोस भनेर रमेशले रिमोट लुकाइदिन्थे । फेसबुक चलाएको थाहा पाएर नेट बन्द गराइदिए । भाडामा बस्नेहरुसंग कुरा गर्न, बोल्न र आउजाउ गर्न बन्द गराइदिए । छिमेकीसंग बोलचाल गर्न दिएनन् । मेरो श्रीमती हो भनेर रञ्जनालाई कसैसंग चिनाएनन् । बरु टोल र छिमेकमा रंजनालाई पागल महिला भनेर चिनाए । रमेशले पटक–पटक आफ्नो चरित्र हत्या गरेको उनको आरोप छ ।

बिहे पूर्व रञ्जनाले ब्युटिपार्लर र कस्मेटिक पसल चलाउँदै आएकी थिइन । पसल राम्रै चलेको थियो । तर बिहेपछि रमेशले पसल बन्द गर्न दबाब दिए लाखौँ मुल्य बराबरको पसल रमेश आफैले बन्द गराइदिए । पसलको सामान र उनी बस्दै आएको फ्ल्याटका बन्दोबस्तीका सामान रमेशले नारायणस्थित घरमा लगेर राखिदिए । रञ्जना पनि घर–परिवार र श्रीमानको खुसीका लागि आफ्नो व्यावसाय नै छोडेर बसेकी थिइन् । पसल छोडेकोमा यतिबेला उनलाई निकै पश्चाताप भएको छ ।


‘सेवा नै धर्म’ हो भन्ने सम्झेर उनी श्रीमान र सासुको सेवामा समर्पित थिइन् । पहिलो श्रीमतीको मृत्यु भएदेखि खाने बस्ने ठेगान नभएका रमेशलाई उनले नावालक बच्चालाई जस्तै माया दिइन् । ‘खुट्टा धोएर आइस्योस् न राजा’ भन्नु मेरो गल्ती हो ? ‘भुजा अलिकति बढी खाइस्योस न राजा’ भन्नु मेरो अपराध हो ? ‘खाली खुट्टा ट्वाइलेट नगइस्योस न राजा’ भन्नु मेरो पाप हो ? ‘फोहोर कपडा नलगाइस्योस, म धोइदिन्छु’ भन्नु मेरो पाप हो ? मैले घरपविारलाई माया गरेर सम्हाल्नु पनि मेरो गल्ती हो ?’ आफुलाई कुटेर घरबाट निकालिदिए पछि यस्ता बग्रेल्ती प्रश्नहरुले उनलाई सताउँछ ।


पहिलो विवाह सफल नभएपछि एकल जीवन बिताइरहेकी रञ्जनाले बाँकी जिन्दगी आफ्नो व्यावसाय र समाज सेवामा समर्पण गरिकसकेकी थिइन् । तर शान्त तलाउ जस्तो उनको जिन्दगी दोस्रो बिवाह तरंग बनेर छचल्कियो । उनलाई लागेको थियो, ठूला मान्छेहरुको मन पनि ठूलै हुन्छ । राम्रो व्यावहार गर्छन्, सबैलाई समान सोँच्छन् र सबैको भलो चिताउँछन् । तर, ती सिबै भ्रम रहेछन् । ‘बाहिर ठूलो भन्दै हिड्ने मान्छेहरु भित्र कति नीच र कमजोर हुँदारहेछन्, मैले रमेश बिष्टको ब्यबहारबाट थाहा पाएँ, उसंग धनपैसा छ, तर उसको इज्जत छैन रहेछ,’ उनी भन्छिन्, ‘पहिलो श्रीमती मरेर एक्लो भएको मान्छेलाई सहारा दिन भनेर विवाह गरेकीे थिएँ, तर मलाई नै बेसहारा बनाइयो ।’


आफुमाथि अन्याय हुन थालेपछि उनले श्रीमानसंग विवाह दर्ता र नागरिकता मागेकी थिइन् । विवाह दर्ता र नागरिकता मागेपछि आफुमाथि दुर्व्यहार हुन थालेको उनी बताउँछिन् । तर, यतिबेला उनलाई आफ्नो सामान र सम्पत्ती फिर्ता चाहिएको छ । उनी भन्छिन्, ‘म अहिले बस्ने ठाउँ समेत नभएर समस्यामा छु । मेरो विवाह अघिको सामान पनि रमेशजंग विष्टकै घरमा कब्जा गरेर राखिएको छ । मलाई यतिबेला आश्रयस्थल चाहिएको छ ।’


उनी न्यायको खोजी गर्दै राष्ट्रिय महिला आयोगमा पनि गइन् । तर, त्यहाँ पनि आफ्नो समस्यालाई खासै प्राथमिकता नदिइएको उनी उनी बताउँछिन् । महिला आयोग र माइती नेपालमा महिलाका पीडा सुनुवाई हुन्छ भनेर पटक पटक त्यहाँ धाएकी छिन् । तर जहाँ गए पनि आश्वासन मात्र पाइने, तर कार्वाही नहुँदा उनको न्याय प्रतिको आशा मरिसकेको छ ।

सम्बन्धित खबर