विनोद शाही मृत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिकासहित तीन जनाविरूद्ध मुद्दा नचल्ने

दियो पोस्ट  

अछाम । अछामका विनोद शाही मृत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ । पञ्चदेवल विनायककी मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि पनि किटानी जाहेरी परेको थियो।

तर उनीहरूलाई मुद्दा चलाउन कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भएको छ। प्रहरीले बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको उल्लेख छ। उनीहरू घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ।

तीनै जनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिइन्। मेयर चलाउने नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही गत जेठ १७ गते सम्पर्कविहिन भएका थिए। चार दिनपछि घर नजिकै जंगलको भिरमा उनको शव फेला परेको थियो।