काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा समेत गरिन् ।
भुसालले भनिन्, “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।” उनले पश्चेश्वर जलविद्युत परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड समेत दिइन् ।
राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव द्वय बाबुराम भण्डारी र चिरञ्जीवि चटौत र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।