राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ जनालाई सात वर्ष कैद सजाय

दियो पोस्ट  

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुइ युवालाई सजाय दिइएको छ । उनीहरुलाई ७–७ वर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ ।

यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरि असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरुले यौन दुव्र्यवहार गरको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो । उनीहरुले उतिबेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए । तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो ।