म कर्मचारी चलाउने पक्षमा छैनः मन्त्री चौधरी

दियो पोस्ट  

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने बताएका छन् । सहरी विकास मन्त्रालयको आ. व. ०७८– ७९ को वार्षिक प्रगति समिक्षा तथा कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यक्रममा आयोजित ३ दिने कार्यक्रममा समापन मन्तव्य राख्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘मन्त्री भएको ३८ दिन भयो । मेरो मूल्याङ्कन तपाइहरुले गर्नुभएकै होला । म कसैको चित्त दुखाउन चाहन्नँ । त्यसकारण म कर्मचारी चलाउने पक्षमा छैन । तर नियतमै खोट देखिए कारबाही मात्र होइन दण्डसहित कारबाही गर्नुपर्ने हुनसक्छ ।’

सहरी विभाग तथा भवन निर्माण विभाग अन्तर्गत विभिन्न २१ आयोजना मध्येबाट ४ जना उत्कृष्ट आयोजना प्रमुखलाई मन्त्री चौधरीले पुरस्कृत गरेका छन् । वित्तिय तथा भौतिक प्रगति, बेरुजु फछ्र्यौट, रुग्न आयोजना घटाउने पहल, कार्यक्षमता जस्ता सुचाङ्कका आधारमा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक त्रय दिलिप भण्डारी, चक्रवर्ती कण्ठ र सुरेन्द्रमान श्रेष्ठको मुल्याङ्कन टोलीको सिफारिसमा पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख प्रकाश अर्याल, रामेछापका आयोजना प्रमुख सुरेश वाग्ले, संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीका प्रवीण शाह र धनुषाका प्रदीप खनाल रहेका छन् ।