महानगरले जग्गा खाली गर्न नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेट नियम विपरीत

diyopost.com
दियो पोस्ट  मंगलबार, साउन २४, २०७९ | १७:३१:१७

काठमाडौं । नर्भिक अस्पताललाई काठमाडौं महानगरपालिकाले दिएको २४ घण्टे अल्टिमेट नियमविपरीत रहेको पाईएको छ । महानगर र अस्पतालबीच भएको सम्झैतामा महानगरले जग्गा खाली गराउन चाहेमा तीन महिना अगावै सूचना दिनु पर्ने कुरा उल्लेख छ ।

तर, महानगरका प्रमुख बालेन्द्र साहले हिजो आफैँ नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अस्पतालले अवैध रूपमा प्रयोग गरिरहेको भन्दै २४ घन्टाभित्र खाली गर्न सूचना टाँस गराएका थिए । त्यसपछि आज अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पत्रकार सम्मेलन गर्दै अस्पतालले बनाएका संरचना तत्कालै भत्काउन सम्भव नरहेको बताएका छन् ।

‘त्यो जग्गाबाट हामीले टहराहरू बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाई गरेका छौँ । ती सबै तुरुन्तै हटाइदिने हो भने अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरू के गर्ने ? उनीहरूको ज्यान गयो भने को जिम्मेवार हुने र?’ उनले भने, ‘सरकारका तर्फबाट तत्कालीन भूमिसुधार अधिकारीले हस्ताक्षर गरेर दिइएको जग्गा हो । सम्झौताविपरीत कुनै काम भएको छैन ।’

०६५ सालमा २० वर्षका लागि नेपाल सरकारसँग सम्झौता गरी एक रोजगी जग्गा ‘लिज’मा लिएर प्रयोग गर्दै आएको भन्दै उनले सम्झौतामा जग्गाको स्वरूप बिगार्न नपाइने मात्र उल्लेख भएको दाबी गरे ।

सिंहले सरकारी जग्गा अतिक्रमण गरेको भन्ने महानगरपालिकाको आरोप अस्वीकार समेत गरे ।

सम्बन्धित खबर