छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ वायर फैक्टरीस्थित सडकमा प्र.२–०२–००१ प ०६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बटेश्वर गाउँपालिका–१ बस्ने ४२ वर्षीया कौसलिया देवी महतो रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैँगरी सर्लाहीको बरहथवा नगरपालिका–९ सोल्टीमोडस्थित सडकमा ना. १ ज २८४९ नम्बरको म्याजिक र ना.२० प ५१७९ नम्बरको मोटेरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–१ मंगलपुर बस्ने ३७ वर्षीय सुमन सहनी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१० बाँसबारीस्थित सडकमा प्र–१–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ जलजले बस्ने २५ वर्षीय सुदिप चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनालाई थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ ।
सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।