‘नक्कली प्रेस सल्लाहकार’को अर्को ‘कर्तुत’ : दर्ता नभएको इन्भेष्टमेन्ट कम्पनिबाट करोडौँ ठगी !

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नाम दुरुपयोग गर्दै मिटरब्याज धन्दा चलाउने श्रीवल्लव नेपालले ईन्भेष्टमेन्ट कम्पनिको नाममा सयौँ सर्वसाधरणको २ करोड भन्दा बढी ठगी गरेको खुलाशा भएको छ ।
धितोपत्र बोर्ड र राष्ट्र बैंकसँग अनुमति नै नलिई उनले संचालन गरेका गन्तव्य ईन्भेष्टमेन्ट ईन्टरनेश्नल नामक कम्पनिले सर्वसाधरणबाट करोडौँ रुपैयाँ उठाएको पाइएको हो । गन्तव्य यातयात सहकारीका अध्यक्ष समेत रहेको बताउने उनी नेकपा माओवादी केन्द्रका विशेष प्रदेश सचिवालय सदस्य मात्रै होइन प्रस्तावित केन्द्रीय सदस्य हुन् ।

भक्तपुुरको राधेराधेमा कार्यालय राखेर ईन्भेष्टमेन्ट कम्पनिको नाममा प्रति व्यक्ति लाखौँ रुपैयाँ उठाएको पीडितहरुको भनाई छ । श्रीबल्लबबारे समाचार प्रकाशन भएपछि पीडितहरुले आफ्नो शेयर बापतको रकम फिर्ता माग्न थालेका छन् । फिर्ता माग्नेहरुलाई उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई नारायण दाहालको नाम समेत लिएर धम्काउने गरेका छन् । प्रधानमन्त्री दाहालका भाई नारायण पटक पटक उक्त कार्यालयमा पुग्ने गरेका छन् । श्रीबल्लबको ठगीधन्दामा दाहालको समेत संरक्षण रहेको आरोप छ ।

सर्वसाधरणलाई बचत र शेयरको नाममा लाखौँ रुपैयाँ उठाइएको एक पीडितको भनाई छ । एक सेयर सदस्यले २ लाख रुपैयाँ लगानी फिर्ताका लागि निवेदन दिएका थिए । तर, उनले दिएको निवेदनको कुनै सुनुवाई नभएको पीडितको गुनासो छ । ‘न कार्यालयको फोन उठ्छ न त श्रीबल्लब नेपालले फोन उठाउँछन्,’ एक पीडितले भने,‘हामी जस्ता तीन सय जनाभन्दा बढी ठगिएका छौँ ।’ उनले सर्वसाधरणबाट तराईमा जग्गा खरिद गर्ने भन्दै करोडौँ उठाएका छन् । कतिपयलाई सिराहस्थित भरत तालमा लगानी गर्ने भन्दै पैसा उठाएको एक शेयर सदस्यले बताए । जबकी यसरी ईन्भेष्टमेन्ट कम्पनिले सर्वसाधरणबाट शेयर उठाउन राष्ट्र बैंक र विभिन्न निकायबाट अनुमति लिनुपर्छ । ईन्भेष्टमेन्ट कम्पनिमा जम्मा भएको पैसा विभिन्न व्यक्तिलाई मिटरब्याज लगाउने गरेको समेत आरोप छ । कतिपयबाट उनले मिटरब्याज बापतको रकम समेत सोही कम्पनिका नाममा काट्न लगाउने गरेका छन् । उनको कम्पनि र अविनाश कर्णबीच कुनै कारोबार नै नभएपनि उनले अविनाश कर्णलाई गन्तव्य ईन्भेष्टमेन्टका नाममा चेक काट्न लगाएका छन् । सोही चेक बाउन्स गराएर कर्ण विरुद्ध पक्राउ पुर्जी निकालेका छन् । अहिले कर्ण फरार छन् ।

शेयर सदस्यलाई विभिन्न कलाकार ल्याउने र भरतताल र पोखरा घुमाउने गरेका छन् । घुम्न जान पाएर मख्ख परेका शेयर सदस्यहरु अहिले भने आफू ठगिएको चाल पाएका छन् ।
सिन्धुपाल्चोकका कतिपय सेयर र बचत कर्ताले ६ महिना अगाडि देखिनै कम्पनिमा रहेको बचत रकम र सेयर फिर्ता पाउँ भन्दै पटकपटक निवेदन दिँदा समेत उनले रकम फिर्ता नदिएको बुझिएको छ ।

धितोपत्र र राष्ट्र बैंकलाई छैन जानकारी

गन्तव्य ईन्भेष्टमेन्टले सर्वसाधरणबाट रकम उठाएको विषयमा प्रतिक्रिया लिन राष्ट्र बैंकका सुचना अधिकारी दिल्लीराम पोखरेललाई सम्पर्क गर्दा उनले यो विषय धितो पत्र बोर्डले हेर्ने भन्दै बोर्डमा सम्पर्क गर्न भने । धितोपत्र बोर्डको कार्यालयमै पुगेर उक्त कम्पनिले कारोबार स्विकृति लिएको विषयमा प्रतिक्रिया माग्दा त्यहाँका सुचना अधिकारी तेजप्रसाद देवकोटाले उक्त कम्पनि दर्ता भए नभएको वेभसाइटमै उल्लेख हुने बताए । तर, वेभसाइटमा हेर्दा यो कम्पनि दर्ता भएको देखिँदैन । यसरी विना दर्ता नै सर्वसाधरणबाट ईन्भेष्टमेन्ट कम्पनिको नाममा उनले करोडौँ रकम उठाएका छन् ।

 

वेभससाइट समेत नक्कली

गन्तव्य यातयात सहकारी र गन्तव्य ईन्भेष्टमेन्टमा श्रीबल्लबले वेभसाइटको नाम धधध।नककनचयध।अयm उल्लेख छ । तर, उक्त वेभसाइटको लिंक ब्राउज गर्ने हो भने बेलायतको लन्डनस्थित क्रोमाइट नामक ईलेक्ट्रोनिक स्टोरको ्पेजमा पुगिन्छ ।

 

उक्त पेजसँग श्रीबल्लबको के सरोकार छ भन्ने विषय रहस्यमयी छ । वा उनले सर्वसाधरणलाई भ्रममा पार्न देखाउनका लाई भएपनि उक्त वेभसाइटको लिंक हालिएदिए । फेसबुकमा उल्लेखित ९८०२८०३१५८३ नम्बर पनि सञ्चालनमा छैन । यो नम्बरमा फोन गर्दा अहिले उपलब्ध हुन सकेन भन्ने सन्देश आउने गरेको छ ।

अपडेट :

यसैबीच प्रकाशित समाचारप्रति नेपालले खण्डन गरेका छन् । उनले प्रेसित गरेको खण्डन जस्ताको तस्तै ।