
कास्की । गत साउन १० गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङस्थित बाराही आधारभूत माविको खेल मैदानमा भलिबल खेलको प्रतिस्पर्धा थियो । खेलकै क्रममा स्थानीय विशाल परियार र अमृत गौतमबचि सामान्य वादविवाद भयो । विवादकै क्रममा अमृतका साथी अरुण गुरुङले भने,“त दमैलाई मार्दिन्छु” विशाललाई यतिखेर उनले धम्काएको मात्रै होला भन्ने लागेको थियो तर सोही दिन राती १० बजे अमृत र अरुणलगायतका व्यक्तिहरु ज्यान मार्ने शैलीमा एक्कासी उनको घरमा आएपछि विशाल त्रसित भए ।
राति १० बजेको समयमा विशालको घरमा पुगेर उक्त समूहले झ्याल ढाका तोडफोड गरी विशालमाथि कुटपीट गरेका गर्यो । छोरा विशाललाई जोगाउँदा आमा माथिसमेत उनीहरुले प्रहार गरे । घटनापश्चात पीडित पक्ष जाहेरी दिन वडा प्रहरी कार्यालय बगर पुगेका थिए तर बगर प्रहरीले भने जाहेरी लिन नमानेको उनीहरुको आरोप छ । वडा प्रहरी कार्यालय बगरमा रहेका प्रहरीले पूर्वआइजीपी हेमबहादुर गुरुङले दबाब दिएका कारण जाहेरी दर्ता गराउन नसक्ने जवाफ दिएको पीडितहरुले बताए ।
विशालले अरुण गुरुङ, आशिष गुरुङ, राजेश गुरुङ देवी गुरुङ, अस्मिता गुरुङ, अमृत गौतम, अनिल विक र विनोद विक गरी सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिए पनि प्रहरीले भने मुद्दा कम्जोर बनाउन अभद्र व्यवहारको मुद्दा चलाएको छ ।
‘हामी सधैँझैँ भलिबल खेल्न गएका थियौँ । भलिबल खेल्दा खासमा मेरो विवाद भएको अमृत गौतमसँग हो । अरुण गुरुङसँग होइन । अमृतले आमाचकारी लगाएपछि मैले भाइ त्यस्तो नबोल, राम्ररी खेल भनेर भन्दा एक्कासी अरुण गुरुङले ‘त दमैलाई मार्दिन्छु’ भन्दै अरुलाइ मेरै अगाडि फोन ग¥यो । मैले त सामान्य विवाद सकिन्छ भन्ने सोचेको थिएँ,’ विशालले भने, ‘राति घरमै आएर मार्दिन्छु । कतै नभाग भनेर धम्की पनि दिएको थियो । नभन्दै राति साढे १० बजे घरमा आएर घर तोडफोड गरे । मलाई कुटपीट गरे । मेरो आमाले छेक्दा आमामाथि समेत प्रहार भयो ।’

अरुणको समूहले फलामको रड, दाउरा, बाउसोलगायतका सामान लिएर ज्यान मार्ने हेतुले आएको उनको आरोप छ । उक्त घटनाको विशालको परिवारले भिडियो गर्दा भिडियोमा समेत चिर्पट दाउराले प्रहार गरेको देखिन्छ । त्यसरी चिर्पट दाउराले प्रहार गरेको प्रमाण हुँदा पनि प्रहरीले भने अभद्र व्यवहारमा मात्र मुद्दा चलाउँदै छ ।
जिल्ला प्रहरी कार्यालयमा पुगी गेटमा समेत नाम टिपेर मुद्दा शाखामा पुगेका उनीहरुलाई त्यहीँबाट प्रहरीले वडा कार्यालयले हेर्ने मुद्दा भन्दै फर्काइएको थियो । वडा प्रहरीले पहिला जाहेरी नै लिन नमाने पनि पछि भने जाहेरीमा किटान भएका पूर्वआइजीपी हेमबहादुरको मान्छेको नाम कटाएपछि मात्रै जाहेरी लिने र त्यो पनि ज्यान मार्ने उद्योगमा दर्ता गरेपनि प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाएको हो । त्यतिमात्र होइन, जहाँ उनीहरु जाहेरी लेख्न पुगे त्यहाँका व्यक्तिलेसमेत सुरुको जाहेरी लेख्न नमानेको विशालको आरोप छ । ‘प्रहरीले त लिन मानेन माने मुद्दा लेख्ने पनि पूर्वप्रहरी रहेछन् उनले पनि जातीय विभेदको विषय जाहेरीमा हाल्न मानेनन्,’ विशालले भने ।


घटनामा घाइते भएकी विशालकी आमाको मेट्रोसिटी अस्पतालमा उपचार गराइ मणिपाल रिफर गरिएको थियो । मणिपालमा ३ दिन उपचार गराएपछि उनको डिस्चार्ज भएको छ ।
‘मेरो छोरालाई जोगाउँदा म माथि जाइलागे । छोरा जोगाउँदा ज्यानलिन खोजे । मैले उपचार पनि पाइन न्याय पनि पाइन,’ विशालकी आमाले भनिन्, ‘उनीहरुसँग दाउरा, बाउसोहरु थियो मैले यसो नगर भन्दा भन्दै चिर्पटले हान्न सुरु गरे ।’
आफूहरुले प्रहरीबाटै अन्यायमा परेको उनी सुनाउछिन् । दैनिकी ज्यालादारीबाट गुजारा चलाइरहेको परिवारलाई आर्थिक प्रलोभन समेत देखाएका छन् । तर पीडित परिवार भने न्यायको ढोका ढक्ढक्याइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले भने जाहेरी लिन नमानेको विषयबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । उनले अभद्र व्यवहारमा परेको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको बताए । घटनामा अन्य संलग्न रहेमा उनीहरुलाई समेत पक्राउ गर्ने एसपीको भनाइ छ ।

पालिकाका अध्यक्ष मीनबहादुर गुरुङले समेत पीडितलाई भेटेर मिल्नका लागि आग्रह गरिरहेको विशालले बताए ।
गाउँका जनप्रतिनिधिदेखि नेपाल प्रहरीसम्मले उक्त घटनालाई गुपचुप राख्न खोजेको पीडितहरुको आरोप छ । ल्वाङको दलित समुदायमा यसअघि समेत यस्ता खालका घटनाहरु भइरहे पनि बाहिर आउन भने सकेको थिएनन् ।