
सिन्धुली । सामाजिक सञ्जाल मार्फत् कसैको चरित्र हत्या गरे प्रहरीको साइबर अपराध अनुसन्धान गर्ने साइबर ब्युरोले पक्राउ गरि मुद्दा चलाउँछ । तर, सामान्य नागरिकलाई लेखेकै भरमा पक्राउ गरि मुद्दा चलाउने यो ब्युरोले शक्तिशाली व्यक्तिले अपराध गरेको घटनामा भने थामथुम पार्ने र उन्मुक्ति दिने गरेको पाइएको छ । प्रसंग हो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष ब्रम्हध्वज वाइबाको ।
उनले आफ्ना कर्मचारी लगाएर स्थानिय एक महिलाको चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा विगत चार महिनाअघि उजुरी परेको थियो । उजुरीपछि ब्युरोले दुई युवालाई पक्राउ गरेको थियो । अनुसन्धानमा ती युवा गाउँपालिका अध्यक्ष वाइबाकै सुरक्षा हेर्ने हरिहरपुरगढीका टंक राई र गाउँपालिका प्रहरी सन्तबहादुर भोलनलाई आइतवार बिहान थप कारबाहीका लागि काठमाडौं पठाएको थियो ।
हरिहरपुरगढी अनलाइन नाम गरेको फेसबुक पेज मार्फत् टंक राई र सन्तबहादुर भोलनले ती महिलाको चरित्रहत्या गर्दै भिडियो सामग्रीहरु अपलोड गरिएपछि साइवर ब्यूरोमा उजुरी दर्ता भएको चार महिनापछि प्रहरील पक्राउ गरेको थियो ।
ब्यूरोले अनुसन्धान अगाडि बढाएपछि महिलाको चरित्रहत्या गर्दै भिडियो सामग्री बनाएर पोष्ट गर्ने र फेसबुकपेज सञ्चालन गर्ने व्यक्ति हरिहरपुरगढीका माओवादी कार्यकर्ता टंक राई र गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाका बडीगार्ड (गाउँपालिका प्रहरी) सन्त रहेको तथ्य खुलेपछि उनीहरुसँग बयान लिन भन्दै सिन्धुली प्रहरीलाई पत्र लेखेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ब्यूरोको पत्र अनुसार राई र भोलनलाई लिखित बयान लिएर तारेखमा राखिएको थियो । उनीहरुले प्रयोग गर्दै आएको मोवाइल र लिखित बयानसहित ब्यूरो कार्यालयमा पठइएको थियो । हिजो मात्रै ब्यूरो कार्यालयले पक्राउ गरेर पठाउने भन्ने पत्र आएपछि हामीले माथिको आदेश पालना गर्दै कारबाहीका लागि पठाएको एसपी गोविन्दराज काफ्लेले बताए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राईले लिएको तीन पृष्ठ लामो बयानमा सो फेसवुक पेज आफूले चलाएको र त्यहाँ पोष्ट गरिएको सामग्री पालिका अध्यक्ष वाइवाको वडीगार्ड भोलन मार्फत् प्राप्त गरेको र सो भिडियो राख्न पालिका अध्यक्ष वाइवाले पनि भनेको बयान दिएका थिए । त्यसपछि मात्रै सन्तबहादुरलाई प्रहरीले बयानका लागि बोलाएको थियो । बयानपछि उनको पनि फोन कब्जामा लिएर अनुसन्धान अगाडि बढाएको थियो । तर, गाउँपालिका अध्यक्षसम्म जोडिएको कनेक्सनबारे अनुसन्धान नै नगरी प्रहरीले पक्राउ परेका अभियुक्तलाई समेत साधारण तारिखमा छाडेको छ ।
बडीगार्डले गरेको बयानमा सो भिडियो पालिका अध्यक्ष मार्फत् आफूले प्राप्त गरेको बयान दिएपछि महिलाको चरित्रहत्या गर्ने कार्यमा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाको संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
बैदेशिक रोजगारीका क्रममा रहेका एक व्यक्तिको श्रीमतीसँग अबैध सम्बन्ध र सम्बन्ध बिच्छेद गराउन सहयोगी भूमिका निर्वाह गरेर एक बालिकाको बिचल्ली बनाएको आरोपमा चर्चामा आएका पालिका अध्यक्ष वाइवाको पछिल्लो घटनाले सबैलाई चकित बनाएको छ ।