बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

दियोपोस्ट संवाददाता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।

गत साउन ६ गते तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले आफ्ना ६ मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि काँग्रेस नेतृत्वको बागमती सरकार अल्पमतमा परेको थियो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठन तथा टिकाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ। तर, मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली काँग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्र थिए।

सरकार जोगाउन आवश्यक थप १५ सांसदको समर्थन जुटाउन नसकेपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिएका हुन्।

संविधानअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोहीअनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, बहुमत सुनिश्चित हुन नसकेपछि उनले विश्वासको मतको प्रक्रियामा जानुअघि नै प्रदेशसभा बैठकबाट राजीनामाको घोषणा गरेका हुन्।

सम्बन्धित खबर