काठमडौँ । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन गौरा पर्व मनाउने गरिन्छ । विशेषगरी सुदुर पश्चिममा हिन्दु महिलाहरुले शिव पार्वतीको आराधना गरी गौरा पर्व मनाउने गर्छन्। तर, बदलिँदो समयसंगै राजधानीमा पनि गौरा पर्व तामझामका साथ मनाउन थालिएको छ ।
सुदुर पश्चिमबाट राजधानी आई बसोबास गर्नेहरुले राजधानीको टुडिखेलमा गौरा पर्व हर्सोल्लासका साथमा मनाएका छन् । सुदुर पश्चिममा प्रख्यात देउडा र त्यहाँको संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेर राजधानीमा पनि गौरा पर्व मनाइएको छ ।
शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विशेष विधिविधान अनुसार शिव पार्वतीको पुजा, अरधना गरेर महिलाहरूले ब्रत मनाउने गर्छन भने पुरूषहरूले देउडा खेलेर खुशियालीमा साथ दिन्छन्।
महिलाहरुले करिव ३ देखि ५ दिनसम्म एक मात्र फलाहार खाएर वर्त बसी पूजाआजा गरी धुमारी जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्।
विशेष गरी सुदूरपश्चिम क्षेत्रका सबै जिल्लामा र मध्यपश्चिम क्षेत्रका केही पहाडी जिल्लाका महिलाहरूले मनाउने गरेको यो पर्व डेढ दशक यता तराईका जिल्लाहरूमा पनि मनाइन्छ ।
गौरा पर्वमा वर्तालु महिलाहरुले घांटीमा दुव धागो बाँध्ने प्रचलन छ। सांगीतिक पर्वको रूपमा पनि यो पर्व मनाइन्छ । शिव र गौरी अर्थात गौराको पुजा आराधनाले मनोकाँक्षा पुरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यो पर्वलाई एकताको पर्व पनि भन्ने गरिन्छ ।
यो पर्वको धार्मिक मान्यता अनुसार पौराणिक कालमा पार्वतीले निराहार बसी नित्य आराधना गरी भगवान शिवलाई वरको रूपमा प्राप्त गरेको धार्मिक किम्वदन्ती छ । त्यसैको सम्झनामा शिव पार्वतीको पुजा आजा गर्दै देउडा खेलेर यो पर्व मनाइने चलन छ।