यातयात व्यावसायी महासंघकै ‘नेता’को मिलेमतोमा बसपार्कमा कुँवरको ‘लुट’ : बसबाटै ३६ करोड !

दियो पोस्ट  

काठमाडौं, १९ साउन । राजधानीको गोगंबुस्थित करिब ८० रोपनी सार्वजनिक जग्गामा फैलिएको रजाईं गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालीले बसपार्क क्षेत्रमा मनोमानी शुल्क उठाउँदै आएको पाइएको छ ।

यातयात व्यावसायी महासंघकै उच्च अधिकारीको मिलेमतोमा ल्होत्से बहुउद्देश्यीय प्रा.लीका मालिक दीपक कुँवरले बसपार्क क्षेत्रमा मनोमानी शुल्क उठाएर आतंकै मच्चाएका छन् ।

ग्राण्डी अस्पतालका मालिक समेत रहेका ्कुँवरले महानगरपालिकालाई शुल्क समेत नबुझाएर बसपार्क क्षेत्रमा भने अर्बौंको लुटधन्दा चलाउँदै आएको पाइएको छ । कुँवरले आधुनिक बसपार्कको नाममा बसपार्क क्षेत्रमा मापदण्ड विपरितमा भौतिक संरचना बनाउने र सटर भाडामा लगाएर मनोमानी शुल्क त उठाएका छन् नै त्यहाँ काम गर्ने समान्य मजदुरसँग समेत चर्को शुल्क असुलेको पाइएको छ ।


यातयात व्यावसायी महासंघका महासचिव सरोज सिटौला लगायत उच्च अधिकारीको मिलेमतोमा बसपार्क क्षेत्रमा पार्किङ गर्ने बसहरुबाट असुलिने शुल्कमा अनावश्यक बढोत्तरी गरिएको छ । केही वर्षअघिसम्म दैनिक ७५ रुपैयाँमा पार्किङ गर्दै आएका बसहरुले कोरोना महामारीकैबीचमा दैनिक ८ सय २५ रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । यो शुल्क किन तिर्ने भन्दै प्रश्न गर्ने एक बसपार्ककै कर्मचारीलाई महासंघकै उच्च अधिकारीको मिलेमतोमा जागिरबाटै निकालिएको पाइएको छ ।


दैनिक ८ सयभन्दा बढी बसहरुबाछ कुँवरले वार्षिक ३६ करोडभन्दा बढी रकम असल्ने गरेको बसपार्कमै कार्यरत एक कर्मचारीले दियोपोस्टलाई बताए ।

बसपार्क भित्र प्रवेश गरेबापत लोकल बसहरुले नै एक पटकमा २ सय रुपैयाँ बुझाउँदै आएका छन् । त्यस्तै ट्याक्सी छिरेको समेत दैनिक २० रुपैयाँ असुलिँदै आएको छ । बसपार्क भित्रको शौचालयमा शौच गरेबापत यात्रुबाट १० रुपैयाँ असुलिने गरेको छ ।

बसपार्क क्षेत्रमा निर्माण भएको मापदण्ड विपरितका सपिङ कम्प्लेक्समा सटर भाडामा लिन चाहनेले भाडामा लिनु अघि कुँवरलाई सलामबी बापत करोडौं बुझाउनु पर्ने बाध्यता छ । सपिङ कम्प्लेक्स, फास्टफूड, बाल उद्दान, बैंक तथा वित्तिय संस्थाबाट झनै कुँवरले करोडौँ असुली गर्दै आएका छन् ।

बसपार्कमा क्यान्टिन चलाउने देखि भरियाले समेत कुँवरको कम्पनिलाई सलामी बुझाउँदै आएका छन् । ‘मैले मासिक २० हजार रुपैयाँ ल्होत्सेका कर्मचारीलाई कुनै बिल भरपाई विना बुझाउँदै आएको छु,’ बसपार्क क्षेत्रमा भरियाको का मगर्ने एक मजदुरले दियोपोस्टसँग भने,‘यहाँ हामीले बुझाउनै पर्छ । नबुझाए यहाँबाट निकालिदिन्छन् ।’

त्यस्तै बसपार्कमा ग्रिज काम गर्ने भारतको विहार राज्य घर भएका एक व्यक्तिका अनुसार दैनिक १० हजार रुपैयाँ ल्होत्सेलाई बुझाउनुपर्छ ।

जापान सरकारको सहयोगमा २०४९ सालमा निर्माण भएको बासपार्क जापानी संस्था जाइकाले भवन निर्माण गरिरदिएको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त भवनको उद्घाटन गरेका थिए ।

२०५६ साल चैत्र २९ गते ल्होत्से बहुउद्देश्यीय प्रा.लीलाई जिम्मा लगाइएको थियो । उनीहरुबीच बुट मोडलमा निर्माण सम्झौता भएको थियो ।

सम्झौतामा सार्वजनिक प्रयोजन भनिएपनि अन्तत कुँवरले व्यापारिक प्रयोजनका लागि सरकारी सम्पत्तिको दोहन गरेको आरोप छ ।

बसपार्कमा व्यापार गर्दै आएका ज्ञानु गुप्ताले कुँवरको कम्पनिलाई १ करोड रुपैयाँ सलामी बुझाएको सार्वजनिक भइसकेको छ । ‘उहाँले बोलाउनु भएको थियो । अझै समझदार भएको छैन । आजभोलीमा फेरी भन्नेवाला छु,’ उनले दियोपोस्टसँग भने,‘मेरो पैसा फिर्ता दिनुस् मैले होटल चलाउँदिन भनेको छु । मैले एक करोड दिएको हुँ ।’

उनका अनुसार कुँवरले अरुबाट भने एउटा सटरको १०/’१० लाख सलामी असुली गरेका छन् । ‘अरुलाई १० लाखको दरले सलामी उठाइएको रहेछ । मेरो पनि १० लाखको दरले कटाउनुस् भनेको छु,’ उनले भने,‘कतिपयले २० लाख सम्म तिरेका छन् । चेकबाट कारोबार हुँदैन । नगद नै दिनुपर्छ । मैले फाइनान्सबाट ऋण काढेर दिएको हुँ । पैसा उहाँले बोकेर गएको हो । उहाँहरुले पैसा लगेपछि हामीले सटर पायो । हामीले फाइनान्सको किस्ता तिरिरहेको छु ।’