प्रधानमन्त्री देउवाले भेटे सहकारी ‘ठगीका अभियुक्त’ : देउवाले बोल्दै नबोलेको समाचार मिडियामा !

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन २२, २०७८ | १४:४२:५०

काठमाडौं, २१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी ठगीका आरोपमा छानबीनमा परेका विवादास्पद व्यक्तिलाई भेटेका छन् । आफूलाई नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सचिव बताउने सुरेन्द्र भण्डारीले देउवालाई भेटेका हुन् ।

उनलाई देउवा समक्ष कांग्रेस नेता तथा सांसद आनन्द प्रसाद ढुंगानाले लिएर गएका थिए ।


भण्डारीले देउवालाई शुभकामना पत्र दिएका थिए । नेपालमा सहकारी बैंक हुँदा हुँदै अर्को सहकारी बैंक खोल्ने विषयमा उनले देउवालाई जानकारी गराएको उल्लेख छ । तर, देउवाकै सचिवालयका अनुसार उनले शुभकामना मात्रै दिएका हुन् । यद्धपी भण्डारीले भने शेरबहादुर देउवाले अर्को सहकारी बैंक खोल्न आवश्यक रहेको भन्ने अभिव्यक्ति दिएको बताएका छन् ।

ललितपुरको पुलचोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था मार्फत दर्जनौँ व्यक्तिलाई ठगी गरेको अभियोगमा राष्ट्र बैंकदेखि सिआइबीसम्मले छानबीनमा राखेको भण्डारी सहकारी क्षेत्रका बद्नाम पात्र हुन् ।


केही मिडियामा भण्डारीले ‘सबै सहकारीको प्रतिनिधित्व हुने गरि सहकारी बैंक खोल्न आवश्यक रहेको प्रतिक्रिया दिएको भन्दै आएका छन् । तर, प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाले प्रधानमन्त्रीले त्यस्तो कुनै वाक्य नबोलेको बताए ।

‘सहकारी विभागका साथीहरु आउनु भएको थियो । उहाँहरुले आफ्नो कुरा राख्नु भयो । अर्को सहकारी बैंक खोल्न आवश्यक रहेको भन्ने विभागका साथीहरुको भनाई थियो तर, प्रधानमन्त्रीज्युले सल्लाह गरौँला भन्ने जवाफ मात्रै दिनु भएको हो,’ देउवाले दियोपोस्टसँग भने ।

तर भण्डारीले भने ‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो,’ भन्दै आएका छन् ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए ।

सम्बन्धित खबर