७० वर्षअघि बनेको लिम्बुनी पुल

diyopost.com
दियो पोस्ट  शनिबार, साउन २३, २०७८ | १५:०१:४९

सुनिल उलक


पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुंगे पुलको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतः कर्णालीवासीको उत्साह देखियो । दलवीरको वाहवाही गर्नेहरू धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा प्रदेश सरकार पनि सचेत भएको देखियो । तर यस किसिमका उत्साही र समाजप्रति निस्वार्थ भावले पुल बनाइदिने अरु पनि थिए ।

त्यो बेला झोलुंगे पुल बनाउने आँट गर्नु त्यति सहज थिएन । सोचेर मात्र सम्भव थिएन । धन भएर मात्र पनि सम्भव थिएन । तर, यस किसिमको झोलुंगे पुल बनाएर समाजमा अनुकरणीय उदाहरण देखाउने धेरै भेटिन्छन् ।


यो कथा पूर्वी नेपालको लिम्बुनी पुलको हो । ६९ वर्षअगाडि बनेको वास्तविक लिम्बुनी पुलको अस्तित्व अहिले छैन, तर त्यही स्थानमा बन्न लागेको नयाँ पुलको नाम पनि उही लिम्बुनी पुल रहेको छ । तसर्थ यो नाम अहिले फेरि सुनिन थालेको छ । तमोर करिडोरको रूपमा हिमाल र तराई जोड्ने सहज र छोटो बाटो तयार हँुदै छ ।

चिनियाँ सीमा टिप्ताला भञ्ज्याङबाट भारतीय सीमा रानी भन्सार जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्दैछ । यसै राजमार्गमा पर्ने तमोर नदीको पुललाई लिम्बुनी पुल नै नामकरण गरिएको छ ।

पहिले हिँडेर जाँदा निधुरादिनबाट अमरपुर निस्कँदा तमोर खोला तर्ने पुल नै लिम्बुनी पुल थियो । यो पुल हाल ओलाङचुङगोला लोकमार्ग अन्तर्गत पर्छ । अझ भनौँ भने पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको सेतुको रूपमा रहेको तमोर नदीको झोलुंगे पुल नै लिम्बुनी पुल हो ।


लिम्बुनी शब्दले नै जनाउँछ, कुनै महिलाको नामबाट बनेको पुल । हालको ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत वडा ५ चाँगेको नेसुममा १९३४ साल चैतमा जन्मेकी विष्णुमाया लिम्बुनीको नामबाट पुल बनेको थियो । विष्णुमायाको पूरा नाम विष्णुमाया नाल्बो आङबुहाङ हो । नेपालमा राणाशासनको अन्त्यको समय आफ्ना श्रीमान् गुमाएकी विष्णुमायालाई आफ्नो श्रीमान्को सम्झनामा केही गर्ने रहर जाग्न पुग्यो ।

जीवनको सबैभन्दा ठूलो धन भनेकै श्रीमान् थिए, श्रीमान नै गुमाएपछि मेरा लागि अरु धनको महत्त्व के नै छ र भनी उनले तमोरमा झोलुंगे पुल हाल्ने मन गरिन् । आफ्नाहरू तथा छरछिमेकको सल्लाहले पुल बनाउने ठाउँको निधो भयो । पुल बनाउन आवश्यक सामग्री खरिद गर्न भारतको सिलिगुडीमा गाउँलेलाई पठाइयो । मुख्य सामग्री फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइयो । अन्य सामग्री गाउँमै तयार गरियो ।

उनको गाउँदेखि करिब चार घन्टा हिँडेर पुगिने तमोर हिउँदमा त मुस्किलले तर्न सकिन्थ्यो, तर वर्षामा भने तर्ने आँट कसैले गर्न सक्दैनथे । खोलामा राखिने फड्केको कुनै भर हँुदैनथ्यो । ताप्लेजुङ तथा पाँचथरबाट नुन तेलका लागि ढाकर बोकेर आउने भरिया कतिलाई त तमोरले बर्सेनि खान्थ्यो । हरेक वर्षातमा मृत्युका समाचारले आक्रान्त बनेको बुढ्यौली मनले पुल बनाउने अठोट गरेको थियो । पुल बनाउने आँट गर्दा विष्णुमाया उमेरले ७५ की थिइन् । यो बुढ्यौली उमेरमा सबै चिन्तापीरलाई थाती राखेर आराम गर्ने दिन थियो । तर, श्रीमानबाट वियोगले आक्रान्त भएकी विष्णुमायाले पुल बनाउने भइन् ।


२००९ सालमा पुल तयार भयो । पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो । गाउँबाट ढाकर बोकेर लहरै हिँड्ने भरिया पनि खुसी भए । अब बर्सेनि जीवन गुम्ने डर भएन । गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बुनी पुल राखिदिए । विष्णुमायालाई कसैले सम्झन्छन्, या सम्झदैनन्, यो थाहा भएन, तर लिम्बुनी पुलको नाम सदैव अमर भएको छ । उनले बनाएको पुलको स्थानमा नयाँ पुल बन्यो, त्यसपछि फेरि यातायात नै सुचारु हुने गरी पक्की पुल बन्दैछ । नाम भने अहिले पनि लिम्बुनी पुल नै रहेको छ ।


बूढापाकाले भन्ने गर्छन्– भगवानले सधैँ भन्ने गर्छन्, तिमी आँट म पूरा गरिदिन्छु । कुनै पनि काम गर्न उमेर वा धन होइन, मन हुनुपर्छ । दृढ संकल्प हुनुपर्छ । आँटेको पूरा हुन्छ । हुन पनि उमेरले ७५ पुगेकी एक गृहिणीसँग पक्कै पनि पर्याप्त धन थिएन । तर, उनको आँट र साहसको अगाडि कसैको केही लागेन । उनले गाउँलेका लागि पक्की झोलुंगे पुल बनाइछाडिन् ।


यो पुल रहेको ठाउँमा हरेक वर्ष श्रीपञ्चमीको दिन मेला लाग्ने गर्दछ । मेला भर्न आउनेहरूले सधैँ बोजुलाई सम्झने गर्छन् । लिम्बुनी बोजुको ७९ वर्षको उमेरमा २०१५ साल मंसिरमा स्वर्गारोहण भयो । उनको देहले यो संसार छाडेर गए पनि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनताको मनमा सधैँ उनी बसिरहेकी छन् ।


यहाँ राखिएको तस्बिर विष्णुमायाले बनाएको झोलुंगे पुलको हो । साथमा राखिएको तस्बिर तिनै लिम्बुनी बोजुको हो । यिनै लिम्बुनी बोजुप्रति अन्तर हृदयबाट नै सेवारो तथा नोगेन भन्न चाहन्छु ।
(सुनील उलकको फेसबुकबाट ।)

सम्बन्धित खबर