भारतमा ६ सय ८६ करोडको लागु औषध तस्करलाई संरक्षण गरेको नेपाली सांसदमाथि आरोप !

दियो पोस्ट  

काठमाडौं, २८ साउन । पूर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल लागु औषध कारोबारमा मुछिएका छन् । उनले भारतबाट नेपालमा अवैध रुपमा लागु औषध कारोबार गर्ने गिरोहलाई संरक्षण गरेको पाइएको छ ।


भारतीय प्रहरीले केहीदिन अघि सिमावर्ती नेपाली गाउँमा छापा मारेको थियो । भारतीय प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका लागूऔषध कारोबारी गोविन्द गुप्ता (रौनियार)को घरमा छापा मारेको हो ।


गोविन्दको घरमा छापा हान्दा भारतीय प्रहरीले २८ हजार २ सय २० इन्जेक्सन, १८ हजार ७ सय ८२ सीसी सिरप, ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल, १ लाख २४ हजार ८ सय ७५ ट्याब्लेट बरामद गरेको थियो । त्यस्तै, नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० वटा स्टिकरसमेत बरामद गरेको थियो । उक्त लागूऔषधको अन्तर्राष्ट्रिय मूल्य (डलर) का आधारमा ६ अर्ब ६८ करोडको बरामद भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँका सबैजसो सञ्चार माध्यमहरूले जनाएका छन् ।

तर अर्को एक अनलाइनले भने ६ सय ८६ करोडको लागुऔषध भएको मुल्यांकन गरेको छ । उनी नवलपरासीमै लुकेको आशंकामा भारतीय प्रहरीले गोविन्दको खोजी गरेका छन् । उनलाई नेपाली कांग्रेसका सांसद तथा पूर्व गृहराज्य मन्त्री कँडेलले संरक्षण गरेको आरोप भारतीय संचार माध्यमले लगाएका छन् ।

गोविन्दले लामो समयदेखि नवलपरासी हुँदै नेपालका विभिन्न सहरमा लागूऔषध पठाउने गरेको आरोप छ । उनको कारोबारमा कँडेलले लामो समयदेखि संरक्षण गर्दै आएको भारतीय सञ्चार माध्यमको विश्लेषण छ । लागूऔषध कारोबारी गोविन्दको घर पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ किलोमिटरको दूरीमा छ ।


मुख्य कारोबारी गोविन्द अहिले फरार छन् । कारोबारमा संलग्न भएको भन्दै उनका भाइ रमेशलाई पक्राउ गरी कारबाही प्रकृयाअघि बढाइएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै ठूठीबारीका सञ्चार माध्यमले खबर लेखेका छन् । फरार गोविन्दलाई मोस्टवान्टेडको सूचीमा राखी त्यहाँको प्रहरीले २५ हजार भारतीय रुपैयाँको पुरस्कारसमेत घोषणा गरेको छ । भारतीय सञ्चार माध्यमहरुले फरार रहेका गोविन्द केहीदिन अघि नै कँडेलसँग देखिएको भन्दै तस्वीर समेत सार्वजनिक गरेका छन् । भारतीय प्रहरीका अनुसार उक्त लागु औषधको कारोबारीको कनेक्सन अन्तर्राष्ट्रिय गिरोहसम्म छ ।

गुप्ताले भारतको गोरखपुर बजारमा पनि २ वटा लागुऔषध पसल खोलेका थिए । उक्त पसलमाथि पनि अनुसन्धान शुरु भएको छ । गुप्तालाई नेपालका सांसद तथा पूर्व गृहराज्यमन्त्री कँडेलले लामो समयदेखि संरक्षण रहेको सुचना भारतीय मिडियामा व्यप्त छ ।

रातो घेरामा मस्ट वान्टेड लागु औषध तस्कर गुप्तासँगै रहेका नेपाली कांग्रेसका सांसद तथा पूर्वगृहराज्य मन्त्री कँडेल


घटनापछि नै उनी र भारतीय तस्करसँगको तस्विर भाइरल भएको थियो । घटना भएको हप्तादिनसम्म पनि उनलाई प्रहरीले पक्राउ गर्न नसक्नुमा सांसद कँडेलकै हात रहेको भारतीय मिडियाको विश्लेषण छ ।


को हुन् सांसद कँडेल


नेपाली कांग्रेसका सांसद रहेका उनको नागरिकता समेत शंकाष्पद रहेको छ । उनले नेपाल र भारत दुवै तिरबाट नागरिकता लिएका छन् । २०७४ सालमा नवलपरासीबाट निर्वाचित उनले भारतीय नागरिकता र आधार कार्ड लिएको विषयमा एक दैनिक पत्रिकाले खबर लेखेको थियो । लागु औषध मुद्दामा फरार रहेका गुप्ता पनि नवलपरासीकै हुन् ।


सांसद कँडेलको फोन उठेन


यस विषयमा प्रतिक्रिया लिन सांसद कँडेलको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।