धादिङ्गमा पूर्व ‘गाविस अध्यक्ष’द्वारा महिलामाथि बलात्कार प्रयास, पैसा दिएर मिलाउने कोशिस !

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन २९, २०७८ | २१:१८:३०

काठमाडौँ, २९ साउन । धादिङ्गको सिद्धलेक गाउँपालिका वडा नम्वर ५, कुमपुरकी ३७ वर्षिया एक दलित महिलामाथि बलात्कार प्रयास भएको छ । सिद्धलेक बुङ्गडाँडाका पूर्व गाबिस अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता गोबिन्द कुमार श्रेष्ठले जानुका बिक (नाम परिवर्तन)लाई बाटोमा हिंड्दै गरेको अवस्थामा बलात्कार प्रयास गरेका हुन् ।


यही श्रावण २५ गते बिहान बजार जान निस्केकी बिकलाई घर नजिकैको जंगलको बाटोमा एक्लै हिँडेको देखेपछि आरोपी श्रेष्ठले आफुमाथि बलात्कार गर्न खोजेको पीडित बिकको भनाई छ ।

श्रेष्ठले जानुकालाई फकाउँदै ‘एकछिन जंगलमै गफ गरेर बसौँ न’ भन्दै हातमा समातेर तानेको र संवेदनशिल अंगमा हात लगेर आफुलाई लडाउन खोजे पछि जानुकाले प्रतिकार गरेकी थिइन् ।


श्रेष्ठले आफुमाथि दुब्र्यावहार गर्न खोजेपछि आफु भाग्न सफल भएको पीडित बिकको भनाई छ । उनी भन्छिन्, ‘उहाँले मलाई पछाडीबाट आएर समात्नु भयो, म उम्केर भाँगे । तर, उहाँ त मेरो पछि–पछि आउनु भएको रहेछ ।’ श्रेष्ठले आफुलाई पीछा गरेको देखेर पछि उनी आत्तिदैँ रुन थालिन् । श्रेष्ठले उनलाई फकाउँदै ‘आउ आज मेरो घरमै बसौँ, कामी दमाईहरु पहिले पनि हाम्रो घरमा बसेकै हुन्, आज तिमी बस्दा के हुन्छ र ?’ भन्दै हातमा समातेर तानेका थिए । श्रेष्ठले तान्दा जानुकाले घाँटीमा लागाएको पोते चुँडिएको छ ।


श्रेष्ठले आफुमाथि हातपात गर्न खोजेको उनी बताउँछिन् । ‘नराम्रो ब्यबहार गर्न खोजे प्रहरीलाई खबर गरिदिन्छु’ भने पछि श्रेष्ठ आफ्नो बाटो लागेको पीडित बिकको भनाई छ । आफुमाथि दुब्र्यवहार भएपछि बिक बजार नगई बीचबाटै घर फर्केकी थिइन् । घर गई भारतमा रोजगारी गरिरहेका श्रीमानलाई आफुमाथि भएको घटनाका बारेमा फोन मार्फत बताएकी थिइन् । तर, श्रीमानले साथ नदिई आफुलाई उल्टै गाली गरेको उनी बताउँछिन् ।

‘अरुले छोएको श्रीमातीलाई मैले कुनै पनि हालतमा स्वीकार गर्दिन, तुरुन्तै घर छोडेर निस्किेर जा’ भन्दै उनका श्रीमानले घर छाड्न दबाव दिएको उनको भनाई छ । त्यस दिनदेखि उनको आखा ओभानो छैन । बिनाकारण अन्यायमा परेको भन्दै यही साउन २८ गते उनी न्याय माग्दै धादिङ्ग सदरमुकाम आएकी थिइन् । उनले सोही दिन जिल्ला प्रहरी कार्यालय धादिङ्गमा आफुमाथि ‘जवर्जस्ती करणी प्रयास’ गरेको भन्दै उजुरी समेत दर्ता गरेकी छिन् ।


सोही उजुरीका आधारमा आरोपी श्रेष्ठलाई प्रहरीले साउन २९ गते पक्राउ गरि छानबिनका लागि थुनामा राखेको जानुकाका देवर चेत बहादुर विश्वकर्माले जानकारी दिए । ‘गोबिन्दका कारण भाउजु घरबाट समेत बिस्थापित हुनु परेको छ । पैसा दिन्छु भन्दै घटनालाई गाउँमै मिलाउन खोजेका छन् । गरिबको ईज्जत पैसामा किन्न खोज्दै छन् । दाजुले अस्विकार गर्ने भन्नुभो, तीनजना बच्चा छन्, यो उमेरमा भाउजु कहाँ जाने ? उहाँ अन्यायमा पर्नु भएको छ । त्यसैले हामीले जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि उजुरी दर्ता गरेका हौँ,’ घटनाका बारेमा प्रस्ट्याउँदै चेत बहादुरले दियोपोष्टसँग भने ।


पीडित बिकका दुई छोरी र एक छोरा छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि भारतमा छन् । जानुकाले एक्लैले घर ब्यावहार सम्हाल्दै आएकी थिइन् ।

श्रेष्ठका कारण आफु श्रीमानबाट समेत अन्यायमा परेको र घरपरिवारबाट अपहेलित हुनु परेको गुनासो गरिन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले पीडितको जाहेरीको आधारमा श्रेष्ठलाई पक्राउ गरि थुनामा राखेको बताए । यद्धपी घटना विवरण भने आफूलाई थाहा नभएको उनले बताए ।

सम्बन्धित खबर