अयोध्यापुरीमा एउटी आमाको चित्कार’ : श्रीमानले आत्महत्या गरे, झूपडी जलेर खरानी भयो !

diyopost.com
दियो पोस्ट  आइतबार, साउन ३१, २०७८ | ०:५५:४६

दियोपोस्ट संवाददाता

चितवनको माडी नगरपालिका– ९ अयोध्यापुरी कृष्णनगरमा कम्युनिस्ट सरकारका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि ‘भगवान राम र सिताको’ धाम अर्थात राम मन्दिर बन्दैछ ।


निर्माणाधिन मन्दिरबाट केही किलोमिटरको दूरीमा अयोध्यापुरीकै साविक गणेशकुञ्जस्थित ऐलानी जग्गामा केही भूमिहिन दलितहरु छाप्रो बनाएर बसेका छन् ।


ती छाप्रोहरुकै बीचमा एउटा छाप्रो भने जलेर खरानी भएको छ ।

जलेको जलेको चारवटा काला ‘ठूटा’ मध्ये एउटामा सोलार झुण्ड्याइएको छ ।


भाँडाकुँडा यत्रतत्र छरिएका छन् ।


त्रिपाल जस्तो देखिने प्लाष्टिकले एउटा कुनामा छोपेरे छेउछाउमा थोत्रा कपडाहरुले बेरबार गरिएको छ ।

यही कपडाले बेरिएको ‘घर’मा ४५ वर्षिय गिता परियार एक सन्तानसहित बस्दै आएकी थिइन् ।


तर, उनी गत चैत्रदेखि एकाएक बस्तिबाट छोरासहित बेपत्ता भइन् ।

घर जल्नुभन्दा करिब ९ वर्ष अघिको तस्विर


‘उनी कहाँ गइन् हामीलाई थाहा छैन,’ नजिकैका उदय परियारले दियोपोस्टसँग भने,‘माडीकै गोविन्द बस्ती बगई बजारको होटलमा भाँडा माझेर बस्छिन् रे भन्ने सुनेको हो । आयस्रोत नभएपछि सन्तान पाल्नै पर्यो ।’

सिलौटो बनाएर १० वर्षिय छोरा गणेशको प्राण धान्दै आएकी गिता घरबाट बेपत्ता भएको महिनौँ बित्यो ।

‘गत माघ अन्तिममा घर जल्यो । घर जलेको केही समय उनले सिलौटो बनाएर बेचेको थाहा छ । तर, चैत्र लागेपछि हावाहुरी आउन थाल्यो,’ जलेको घर अघिल्तिर उभिएर उदयले सुनाए,‘हूरीबतास पानी छेक्ने ओत थिएन । सायद त्यही भएर उहाँ छोरा च्यापेर हिँडेको हुनुपर्छ ।’
उदयका अनुसार मानसिक अवस्था ठीक नभएका गिताकै २६ वर्षिय छोरा सुरजले छाप्रो जलाएका थिए ।


‘उसको उपचारका लागि हामी गाउँलेहरुले पनि कोशिस गर्यौँ तर सकेनौँ । प्रशासन पनि गुहार्यौँ । तर सकेनौँ,’ उदयले भने ।
७ सन्तानकी आमा गिताको छाप्रो जल्नुभन्दा ८ वर्ष जीवनको आधा आकाश जलेको दरुण कथा झनै दर्दनाक छ ।

घर जल्नुभन्दा करिब ९ वर्ष अघिको तस्विर


२५ वर्षअघि मकवानपुरको दुविचौरबाट अयोध्यापुरीको जंगलछेउको ऐलानी जग्गामा आएर सामान्य छाप्रो बनाएर बसेका गिताका श्रीमान धनबहादुरको लालपुर्जा थिएन । आफू मादल बनाउँथे श्रीमती सिलौटौ बनाउँथिन् । यसरी नै उनीहरुको गुजारा चलेको थियो ।


उनलाई अयोध्यापुरीबासीले ‘मादले’ भनेर चिन्थे ।

SONY DSC

गिताको लागि ७ कात्तिक २०६९ दशैं पर्वको नवमीको बिहान कहालीलाग्दो ‘बादल’ बनेर आयो ।

त्यो समय आम नेपालीहरु विजयदशमीको उत्सवमै थिए । दशैंको टीकाको अघिल्लो साँझ अर्थात नवमीका दिन धनबहादुरले झुण्डिएर आत्महत्या गरे ।

मादल बनाएर दुनियालाई नचाउने धनबहादुर आफ्नै श्रीमती र छोराछोरीलाई रुवाएर संसारबाट विदा भए ।


आत्महत्या गर्नुअघि धनबहादुरले केही दिनका लागि उधारोमा मासु खोजेका थिए । तर पैसा नभएका कारण उनलाई गाउँलेहरुले १५ सय रुपैयाँको उधारो मासु पत्याएनन् ।

श्रीमतीसहित ७ जना सन्तानलाई दशैंमा मासु खुवाउन नसकेकै रात धनबहादुर ओछ्यानमा थिएनन् । खाना पकाउने गरेको छाप्रोमा उनी झुण्डिएको अवस्थामा फेला परे ।


आत्महत्यापछि धनबहादुरको शव ५३ किलोमिटर टाढा भरतपुर अस्पताल ल्याउनुपर्ने भयो । तर, शव अस्पताल पुर्याउने र घर फिर्ता ल्याउने पैसा नभएपछि गाउँलेहरुले उठाएर दिएका थिए ।

अयोध्यापूरी गाविसका पूर्वअध्यक्ष नारदमणि पौडेलका अनुसार शव पोष्टमार्टमका लागि गाविस कार्यालयले चार हजार रुपैयाँ, मध्यवर्ती उपभोक्ता समितिले दुई हजार र स्थानीयले पाँच हजार रुपैयाँ उठाएर दिएका थिए ।


यो खबर थाहा पाएपछि अमेरिकामा रहेका समाजसेवी तथा रक्तदाता अर्जुन प्रसाद मैनालीले पटक पटक गरेर एक लाख पैँतालिस हजार रुपैयाँ सहयोग उपलब्ध गराईदिए ।


अर्जुनले दिएको सहयोग रकम बालबालीकाको शिक्षादिक्षा र लालनपालमै सकियो । उपचार अभावकै कारण गिताले पहिलो छोरी पनि गुमाउन पुगिन् ।


श्रीमान गुमाएको ८ वर्षमा गिताले जेठी छोरी पनि गुमाइन् । घरमै उपचार अभावका कारण उनको मृत्यु भएको उदयले बताए ।
उनका अन्य २ जना छोराहरु भने काठमाडौंको बुढानिलकण्ठमा एक व्यक्तिले घरेलु काममा लगाएको उदयले बताए ।


जब गिता सम्पर्कमा आइन्…


आखिर गिता कहाँ हराइन् ? हामीले माडीमै उनी निकट आफन्तहरु मार्फत उनको खोजी गर्यौँ ।


दियोपोस्टले लामो खोज गरेपछि गीता टेलिफोन सम्पर्कमा आइन् ।


‘मरेको छैन बाँचेकै छु । बगई बजारको होटलमा भाँडा माझेर बसेको छु,’ गिताको पहिलो जवाफ थियो ।
घर कहिले कसरी जल्यो ?’ दोस्रो प्रश्नमा उनले भनिन्,‘पुस महिनामै घर जलेको हो । केही समय त म घरमै बसेँ तर, चैत लागेपछि हावाहुरी आयो अनि म बस्न नसकेर बगई बजार झरेँ ।’


गिताका अनुसार उनका जेठा छोरा सुरजको दिमागी हालत ठीक थिएन । सानै उमेरदेखि सुरजले शिक्षा दिक्षा पाएनन् । मानसिक अवस्था ठीक नभएका सुरजले घरमा कोही नभएको बेला आगो खेलाउँदा छाप्रो जलेको गिताले बताइन् ।

‘घर भनुँ की के भनौँ त्यही छाप्रोमा बसेका थियौँ । त्यो पनि जलेर खरानी भयो । दैनिक एक छाक खाएर बसेका छौँ । हामीलाई कसले हेर्छ र,’ उनले भनिन्,‘कान्छो छोरो १० वर्षिय गणेश यहाँदेखि (बगई बजारदेखि गणेशकुञ्जसम्म) हिँडेरै स्कुल जान्छ ।’


००


ओली सरकार : जसले जलेको झुपडी देखेन तर अदृष्य ‘भगवान’ देख्यो !


गरिबको झुपडी जलेको नदेख्ने सरकारले यता गिताकै घर निजिकै अयोध्या धाम बनाउँदै छ ।

उक्त धाममा तत्कालिन प्रधानमन्त्री केपी ओलीले आफ्नो निजि खर्चमा राम, सिता, हनुमान र लक्ष्मणको पूर्णकदको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रा गर्दै कृष्णनगरस्थित अयोध्यापुरीमा पुर्याएको थियो ।

ओलीले उक्त मुर्ति निर्माणका लागि आफ्नो व्यक्तिगत १६ लाख रुपैयाँ खर्चिएका थिए ।


माडी नगरपालिका वडा नम्बर ९ अयोध्यापुरीका वडाध्यक्ष शिवहरी सुवेदीका अनुसार अयोध्या धाम बनाउन वागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको छ ।

धाम निर्माणका लागि सरकारको नाममा रहेको १ सय विघा जग्गा धामको नाममा ल्याउने कोशिस गरिरहेको छ । यद्धपी राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण उक्त जग्गा धामको नाममा ल्याउन भने सहज छैन ।

धामको डिपीआर गर्न तत्कालिन संघीय सरकारले २ करोड रुपैयाँ छुट्याएको वडाध्यक्ष सुवेदीले जनाए । मन्दिर निर्माणका लागि भनेर केन्द्र सरकारले ३० करोड भन्दा बढी रकम छुट्याएको धाम व्यवस्थापन समितिका एक अधिकारीले दियोपोस्टलाई बताए ।


अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तिर्थलाल भुसालका अनुसार रथयात्राको लागि मुर्ति बाहेक नै ३० लाख रुपैयाँ खर्च भएको छ ।

यद्धपी काठमाडौंमा टाँगिएको तत्कालिन प्रधानमन्त्री ओली तस्विरसहितको ब्यानर खर्च भने केन्द्रीय सरकारले गरेको थियो । स्रोतका अनुसार उक्त खर्च प्रधानमन्त्री कार्यालयबाटै भएको थियो ।

युवा संघका उपमहासचिव रामजी सापकोटालाई ओलीको तस्विरसहितको ब्यानर बनाउने जिम्मा दिइएको थियो ।

उनै सापकोटाले काठमाडौं शहरका सडकमा ‘जय श्री सिताराम’ लेखिएको ब्यानरमा तत्कालिन प्रधानमन्त्री ओलीलाई भगवानकै रुपमा अंकित गराएका थिए ।

सापकोटाका अनुसार युवा संघले दिएको डिजाइनकै आधारमा ओलीको तस्विर अंकित ब्यानर र गेटहरु बनाइएको थियो । यता रथको निर्माण भने पशुपति क्षेत्र विकास कोषले बनाएको उनको दाबी छ ।

‘सबै स्वयंसेवी रुपमा सहयोग भएको हो । ब्यानर कति बन्यो बन्ने डाटा मसँग छैन । तर, सबै निकायको सहयोगमा काम भएको हो,’ सापकोटाले दियोपोस्टसँग भने ।


अयोध्यापुरीमा तत्कालिन ओली सरकारको योजनामा आधुनिक नेपाल निर्माणको नाममा अर्बौं खर्च गरेर नदेखिने भगवानको प्रतिमा बनाउँदैछ । तर, देखिने जनताहरुको हालत भने गिता परियारहरुको जस्तै छ ।

जनवादी गायक जेबी टुहुरेले भने जस्तै


लाखौँका लागि उजाड छ यो देश


मुठ्ठी भरलाई त स्वर्ग छ ।

सम्बन्धित खबर