काठमाडौं, ३१ साउन । नेकपा एमालेका वागमती प्रदेशका नेता तथा पूर्वस्थानिय विकास मन्त्री राजेन्द्र पाण्डेद्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालमा श्रमजिवी मजदुरमाथि चरम शोषण भएको पाइएको छ ।
वागमती प्रदेशको मुख्यमन्त्रीको दावेदार समेत रहेका पाण्डेको नेतृत्वमा सञ्चालित उक्त अस्पतालमा श्रम ऐन विपरित मजदुरलाई काममा लगाइएको पाइएको हो । ठेकेदार राजेन्द्र शाहले श्रमजिवी मजदुरहरुलाई न्युनतम वेतन समेत नदिई काममा लगाएको हो ।
श्रम ऐनमा मजदुरलाई न्युनतम तलब मासिक १५ हजार रुपैयाँ दिनुपर्ने नियम छ । तर, ठेकेदार शाहलाई प्रयोग गरेर पाण्डेले मासिक ८ हजार रुपैयाँ दिएर मजदुरलाई काममा लगाएपछि चौतर्फी विरोध भएको छ ।
स्रोतका अनुसार न्युनतम तलब समेत नदिएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनमा उत्रिएका मजदुर विरुद्ध शाहले आइतबार नै गुण्डा ल्याएर कुटपीटको कोशिस गरेको आरोप छ । अस्पताल प्रशासनले सरसफाई मजदुरी गर्ने मजदुरलाई कागजी रुपमा मासिक १३ हजार ४ सय ५० रुपैयाँ उपलब्ध गराएको देखिन्छ ।
तर, ठेकेदार कम्पनिले मजदुरको श्रममा समेत कमिशन खाँदा मासिक ८ हजार रुपैयाँ मात्रै मजदुरको हात पर्ने एक मजदुरले बताए । ‘हामीले कोरोना कालमा बालबच्चा छोडेर दिनरात नभनी काम गर्यौँ ।
घर परिवारबाट महिनौँ टाढा बस्यौँ । त्यही कोरोना कालमा सबैले अस्पताललाई चिनेपछि अहिले अस्पताल नाफामा गयो । यतिबेला ८ हजारमा काम गर्ने भए गर नत्र कामबाट निकालिदिन्छु भन्ने धम्की दिएको छ,’ एक सरसफाई मजदुरले भने,‘अहिले हामीलाई बन्सर लगाएर कुटपीट गर्ने कोशिस गरिएको छ ।’
स्रोतका अनुसार अस्पताल व्यवस्थापनले पुराना कर्मचारी हटाउन गोरखा ईन्टरनेश्नल नामक कम्पनिलाई भित्र्याएको छ ।
‘अहिले कार्यरत कर्मचारी हाम्रो अन्तर्गत होइन । बन्दना सेक्युरिटीको कन्सर्नको कुरा हो । श्रम ऐन अनुसार काम गर्ने हो भने हामीले भनेको नयाँ मजदुर राख्नुपर्छ,’ गोरखा ईन्टरनेश्नलका मालिक बसन्त भेटवाल भन्छन्,‘अहिले भएको समस्या अर्को कम्पनिले मिलाउने कुरा हो ।’