गुणस्तर विभागमा ‘पुडासैनीको सेटिङ’ : भूगर्भ सिमेन्टमाथिको कारबाही नै लुकाइएको खुलाशा

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र ०४, २०७८ | १:०९:३०

काठमाडौं, ३ भदौ । गुणस्तरहिन सिमेन्ट विक्री गरेको पाइएपछि गुणस्तर तथा नापतौल विभागले भूगर्भ सिमेन्ट उद्योगमाथि कारबाही थालेको छ ।

तर, ठूला र शक्तिशाली व्यक्ति समलग्न भएका कारण उक्त सिमेन्ट उद्योगमाथिको कारबाही लुकाइएको पाइएको छ ।


विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगमाथिको कारबाहीको कागजात गुपचुप राखेका हुन । अन्य उद्योगमाथि काराबाही गर्दा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने विभागले भूगर्भ सिमेन्ट उद्योगमाथिको कारबाहीको घटना भने गुपचुपमै मिलाएको पाइएको छ ।


भूगर्भ सिमेन्टको अध्यक्ष पितान्बर गैरे हुन् । उक्त सिमेन्ट उद्योगमा नेपाली कांग्रेसको वागमती प्रदेश संसदीय दलको नेता इन्द्र बानियाँ र काठमाडौं विकास प्राधिकरणका पूर्व आयुक्त भाइकाजी तिवारीको लगानी रहेको छ ।


उक्त उद्योगले उत्पादन गरेको भूगर्भ सिमेन्ट गुणस्तर हिन भएको प्रमाणित भएको थियो ।


भूगर्भ सिमेन्टको पीपीसी सिमेन्ट कम गुणस्तरको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको थियो । कपिलवस्तु कृष्णनगरका रमाकान्त चौधरीले घर निर्माणमा कैफियत देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा उजुरी दिएका थिए ।

उनको उजुरीका आधारमा नेपाल गुणस्तर तथा नापतौल विभागले भूगर्भ सिमेन्टको गुणस्तर परिक्षण गरेको थियो । परिक्षणका क्रममा कम्प्रेसिभ स्ट्रेन्थ ३ र ७ दिनको मान क्रमस ९ एमपिए र १५ एमपिए पाइएको छ ।

नेपाल गुणस्तर चिन्ह ३८५ अनुसार १६ एमपिए र २२ एमपिए हुनुपर्ने मापदण्ड छ ।

सो मापदण्ड पालना नभएपछि विभागले उक्त सिमेन्ट विक्री वितरणमा रोक लगाएको हो । विभागले उक्त उद्योगलाई स्पष्टिकरण सोधेको समेत जनाएको छ । तर, उक्त उद्योगमाथि के–कस्तो कारबाही भएको हो भन्ने यकिन विवरण सहितको प्रेस विज्ञप्ति विभागले हालसम्म पनि सार्वजनिक गरेको छैन । विभागले स्पष्टिकरण सोधेर पीडित रमाकान्तलाई भने अर्को सिमेन्ट दिन निर्देशन दिएको छ ।

‘उद्योगमाथि कारबाही गर्नुको सट्टा पीडितलाई अर्को सिमेन्ट दिनु भन्नु नै मिलेमतो हो,’ स्रोतले भन्यो,‘विभागकै उच्च अधिकारीहरुले सेटिङ गरेको छ ।’


कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको यो उद्योगबाट एपोलो, देउराली, क्रिष्टल, ब्राण्डका पिपिपसी सिमेन्ट उत्पादन हुँदै आएको छ ।

सम्बन्धित खबर