काठमाडौं, ५ भदौ । दूरसञ्चार सेवा प्रदायक नीजि कम्पनि एनसेलले नेपाली ग्राहकमाथि एक अर्ब ११ करोड रुपैयाँ ठगी गरेको खुलाशा भएको छ ।
एनसेलको ठगिधन्दामा नियामक निकाय दूरसञ्चार प्राधिकरणले प्रश्न उठाएको छ । प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई प्रयोगकर्ताको अनुमति बिना सेवा दिएर एक अर्ब ११ करोड रुपैयाँ ठगि गरेको ठहर गरेको हो । गत साउन ३२ गते बसेको बोर्ड बैठकले एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ ।
एनसेलले आफ्ना प्रयोगकर्तामाथि २०७५ असोज १५ गतेदेखि ७७ जेठ १८ सम्म स्वत : नविकरणको नाममा ‘गेमलफ्ट र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकमाति अर्बौं असुली गर्दै आएको थियो ।
एनसेलले करबाहेक एक अर्ब ११ करोड ३७ लाख रुपैयाँ प्रयोगकर्ताहरुबाट ठगी गरेको छ । गत वर्ष भदौ १९ गते नै कारबाही किन नगर्ने भन्दै प्राधिकरणले पत्राचार गरेको थियो ।
तर, एनसेलले कुनै प्रतिक्रिया नजनाएपछि असार १७ गते पुन एनसेलसँग स्पष्टिकरण माग भएको प्राधिकरणले जनाएको छ । तर, एनसेलले भने तेस्रो पक्षलाई देखाएर आफ्नो पञ्छिने जवाफ प्राधिकरणलाई दिएको थियो ।
‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको ठहरमा भनिएको छ ।
एनसेललाई प्राधिकरणले ३ महिना भित्र गैरकानुनी रुपमा उठाइएको उक्त रकम फिर्ता गर्न चेतावनी दिएको छ । रकम फिर्ता गरेर प्राधिकरणलाई जानकारी दिन समेत प्राधिकरणले निर्देशनमा भनेको छ ।
के–केमा कति ठगिए ग्राहक ?
प्राधिकरणका अनुसार एनसेलले गेमलफ्ट नामको भ्यास सेवाबाट ‘थ्री डे रिन्युअल र विक्ली रिन्युअल’ का प्याकहरुमा २०७५ असोज १५गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुनेगरि कर बाहेक ११ करोड ३७ लाख ४८ हजार ९ सय ८६ रुपैयाँ ठगी गरेको छ । त्यस्तै हुवाय एप ग्यालरी नामको भ्यासबाट दैनिक नविकरण, तीन दिनको नविकरण, मासिक नविकरण र साप्ताहिक नविकरणको नाममा २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुनेगरि ९९ करोड ९२ लाख १८ हजार आठ सय त्रिसठ्ठी रुपैयाँ ठगी गरेको छ ।
प्राधिकरणले उक्त रकम ठगी गर्ने एनसेललाई ग्राहकको मोबाइलमै उक्त रकम फिर्ता गर्न निर्देशन दिएको छ भने ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्राधिकरणले के–के कारबाही गर्यो ?
दूरसञ्चार प्राधिकरणले एनसेललाई १५ दिन भित्र गेमलफ्ट र हुवावे एप ग्यालरी नामको भ्यास सेवाको अटो रिन्यु प्याकको २०७७ जेठ १८ देखि हालसम्मको विवरण फेरी माग गरेको छ । १५ दिन भित्र विवरण बुझाउन प्राधिकरणको निर्देशन छ ।
त्यस्तै गेमलफ्ट र हुवावे एप ग्यालरी नामको एप ७ दिन भित्र विद्युतिय माध्यमबाट बस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्याविधि २०७६ को दफा ५ को ४ (क) बमोजिम हुनेगरि सञ्चालन गर्न निर्देशन दिएको छ । अन्यथा यो सेवा ७ दिन भित्र बन्द गरि प्राधिकरणलाई जानकारी दिन निर्देशन छ ।