भ्रमण वर्षको नाममा ३५ करोड रुपैयाँ झ्वाम : सुरज वैद्य थिए भ्रमण वर्षका संयोजक !

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र ०६, २०७८ | १२:४५:५२

काठमाडौं, ६ भदौ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भन्दै तत्कालिन केपी ओली नेतृत्वको सरकारले सचिवालय नै खडा गरेको थियो । भ्रमण वर्ष र पर्यटनसँग कुनै साइनो नभएका ओली निकट व्यापारी सुरज बैद्यको नेतृत्वमा सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालय बनाएको थियो । तर, उक्त सचिवालयले नेपाल भ्रमण वर्ष शुरु गर्दा नेपालसहित विश्वमा कोरोना महामारी फैलियो ।


कोरोना महामारीबीच शुरु भएको भ्रमण वर्षको नाममा सरकारी ढुकुटीको भने दोहन भएको पाइएको छ । भ्रमण वर्षको पदाधिकारीहरुले सरकारी ढुकुटीबाट ३० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।


महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उठाइएको छ ।


नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित शुरु भएको यो कार्यक्रममा एक जना पनि पर्यटक आएनन् । बरु उल्टै राज्यको ढुकुटीको भने दोहन भएको छ । २०७४ साउन ३१ को मन्त्रिपरिषद निर्णयबाट तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रीको नेतृत्वमा मुल आयोजक समिति गठन भएको थियो । २०७७ वैशाख १ गतेदेखि सचिवालय खारेज भएपनि त्यस अवधिमा ३५ करोड १२ लाख ७२ हजार रुपैयाँ बजेट सकिएको छ । ‘सो खर्चबाट भविष्यमा पर्यटन प्रवद्र्धनमा अप्रत्यक्ष योगदान पुग्ने जनाएपनि तत्कालको खर्च उपलब्धिमुलक देखिएन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।


कोषले कार्यक्रम सञ्चालन गर्न भन्दै ३० करोड ६३ लाख १० हजार रुपैयाँ खर्च गरेको छ । उक्त रकम मध्ये नेपाल भित्र २६ करोड ६६ लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ भने नेपाल बाहिर कार्यक्रम गर्न भनेर ३ करोड ९६ लाख ३३ हजार खर्च गरेको छ ।


भ्रमण वर्षको सचिवालयले सार्वजनिक खरिद अनुगमन ऐन विपरित खरिद गरेको समेत पाइएको छ । २० लाख भन्दा बढीको खरिदमा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएपनि तर सचिवालयले विभिन्न कार्यक्रमको नाममा १२ करो ८४ लाख ४० हजार रुपैयाँको सोझै खरिद गरेको छ ।

त्यस्तै ४ करोड १३ लाख ७४ हजार रुपैयाँको खरिदमा पनि प्याकेज बनाएर खरिद गरेको महालेखाको प्रतिवेदनको ठहर छ ।

सम्बन्धित खबर