सुरेन्द्र भण्डारीको अर्को कतुर्त : राष्ट्र बैंकले लाइसेन्स नदिँदै सहकारी बैंक उद्घाटन् !

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र ०६, २०७८ | १३:४१:१७

काठमाडौं, ६ भदौ । प्रस्तावित नेपाल सहकारी बैंकले कानुन विपरीत सम्पर्क कार्यालय खोलेको पाइएको छ । राष्ट्र बैंकबाट अनुमति नै नपाएको उक्त बैंककोे मध्य बानेश्वरमा गैर कानुनी तरिकाले सम्पर्क कार्यालयको उद्घाटन समेत भएको पाइएको हो ।


शुक्रबार नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं प्रस्तावित सहकारी बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको नाममा बैंकको कार्यालय उद्घाटन गरेका हुन् । समाचारमा सम्पर्क कार्यालय भनिएपनि ब्यानरमा भने नेपाल सहकारी बैंक लेखिएको छ ।


प्रस्तावित बैंकले काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वरमा स्थापित सम्पर्क कार्यालयलाई ६ महिनापछि कारोबार सञ्चालन गर्ने गरी कार्यालयमै रुपान्तरण गर्ने समेत घोषणा गरेको छ ।


सहकारी बैंकले सम्पर्क कार्यालय खोलेको विषयसँग राष्ट्र बैंकको कुनै सरोकार नभएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले दियोपोस्टलाई बताए ।

उनले भने, ‘सहकारी बैंकलाई नियमन, सुपरिवेक्षण गर्नका लागि राष्ट्र बैंकसँग कुनै ऐन, कानुन छैन, त्यसैले जबसम्म ऐन बन्दैन तबसम्म हामी कुनै सुपरिवेक्षण नै गर्छौँ न अरु केही ।‘ सह प्रवक्ता पोखरेलले राष्ट्र बैंकले लाइसेन्स नै नदिएकाले यो विषयको बैंकसँग कुनै सम्बन्ध नै नभएको भन्दै सहकारी डिभिजन कार्यालयलाई सोध्नु भन्दै पन्छिए ।


दियोपोस्टटले सहकारी विभागका प्रवक्ता सुरेन्द्र राज पौडेललाई सम्पर्क गर्दा उनले आफ्नो घरमा पण्डित आएको र आफू पूजाआजामा व्यस्त रहेको भन्दै प्रतिक्रिया दिनबाट पन्छिए ।


उनले एक मिनेट पनि बोल्ने फूर्सद नभएको भन्दै फोन राखिदिए ।


राष्ट्र बैंकबाट इजाजत प्राप्त नगर्दै बैंकको सम्पर्क कार्यालय खोल्ने विषय गम्भीर रहेको बैंकिङ क्षेत्रका जानकारहरु बताउँछन् ।
उक्त सहकारी बैंकका अध्यक्ष बताउने सुरेन्द्र भण्डारी ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका कार्यकारी निर्देशक हुन् ।

उनले लालीगुराँस सहकारीको आवरणमा गायक रामकृष्ण ढकालदेखि अभिभावक संघका केन्द्रीय अध्यक्ष केशवपुरी लगायतलाई ठगी गरेको अभियोगमा सिआइबीदेखि राष्ट्र बैंकसम्मले छानबीन गरिरहेको छ । सिआइबीमा भण्डारीले ऋणीको सम्पत्ति किर्ते मुल्यांकनका आधारमा आफ्नै कम्पनि खडा गरेर हत्याउने गरेको फाइल अनुसन्धानमा छ । उच्च राजनीतिक पहुँचका कारण उनीमाथिको छानबीन प्रभावित हुँदै आएको छ ।

उनी नेपाली कांग्रेस निकट वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सचिव समेत हुन् ।

त्यसैगरी श्री लालीगुराँस सहकारी भवनले २ सय वर्ष पुरानो समय् फल्चा मिचेर संरचना बनाएपछि ललितपुर महानगरपालिकाले भवन नै भत्काउन निर्देशन दिएको छ ।

सम्बन्धित खबर