६ किसान संगठनको ठहर : केपी ओली सरकारले उखु किसानलाई झूटो आश्वासन मात्रै दियो !

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र ०६, २०७८ | २१:१५:४९

काठमाडौं, ६ भदौं । निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले उखु किसानलाई झूटो आश्वासन दिएर जिल्ल पारेको ६ किसान संगठनले ठहर गरेको छ ।


आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले उखु किसानलाई भूक्तानी दिलाउन तत्कालिन ओली सरकारले गरेको बाचा पुरा नगरेको आरोप लगाएका हुन् ।


अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल किसान महासंघ अफ्फाका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष कृष्ण रानाले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो ठहर गरेका हुन् ।

‘यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे । परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेकोछ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘तसर्थ वर्तमान सरकारले ओली सरकारलेजस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न/गराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँ । यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ ।’


यस्तो छ विज्ञप्ति

सम्बन्धित खबर