काठमाडौं, ७ भदौ । झापाको गिरिबन्धु टि स्टेटको ३ सय ४३ विघा जग्गाको घोटालामा राष्ट्रिय सहमति भएको पाइएको छ ।
भूमाफिया र जग्गा दलालहरुको योजनामा झापाको अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेको हदबन्दी भन्दा बढीको ३ सय ४३ विघा जग्गा बेचविखन गर्नकै लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गराएको थियो ।
ऐन संशोधन भएपछि ओली सरकारले फास्ट ट्रयाकमा असार २४ गते मन्त्रिपरिषदको बैठक बसेर गिरीबन्दु टिस्टेटको जग्गा कौडीको बेचविखन गरेर नजिकैको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
तत्कालिन भूमि सुधार मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरि निर्णय गराएकी थिइन् । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भू माफियाहरुले कोरियन ब्राण्डको २ करोडको गाडी उपहार दिएको समेत खुलेको छ ।
प्रदेश एकका सांसद ईन्द्र बहादुर आङ्बोका अनुसार झापाबाट मात्रै केपी ओली सरकारलाई घुस बुझाउन १ अर्बभन्दा बढी रकम उठाइएको थियो ।
स्रोतका अनुसार झापाबाट पैसा उठाउने र केपी ओलीलाई मिलाउने जिम्मा ओली निकट गोविन्द थापाले लिएका थिए । उनी यसअघि केपी ओलीका लागि राज्यलक्ष्मी गोल्छाबाट चन्दा उठाउने मामलामा समेत विवादमा आएका थिए । गोल्छाले पत्रकार सम्मेलन गरेरै थापाले आफूसँग चन्दा उठाएर लगेको सार्वजनिक गरेकी थिइन् । थापाले ओलीको पक्षमा प्रचार गर्न बालुवाटारमा सनराइज खबर नामको अनलाइन नै सञ्चालन गरेका छन् ।
त्यस्तै गरि आफ्ना सञ्चारकर्मीलाई तलब नदिई निकालेका अन्नपूर्ण पोस्ट तथा एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाको पनि यो जग्गामा साझेदारी रहेको पाइएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वएमाले नेता माधव नेपाललाई आफ्नै घरमा भेटाएर विवाद मिलाउने नाममा आफ्नो धन्दाको प्रचार गराएका थापाले फेरी राजनीतिक रुपमा सेटिङ मिलाएको चर्चा छ ।
जग्गा विवाद चर्किएपछि थापाले प्रधानमन्त्री शेर बहादुर देउवा पत्नि आरजु राणालाई सेटिङ मिलाएको चर्चा छ । थापा र राणाबीच विभिन्न धन्दामा व्यापारिक साझेदारी छ ।
यता अर्का एक व्यापारिक घरानाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिझाएको उच्च स्रोतको दाबी छ ।
स्मार्ट सिटिको नाममा चिया बगानको उक्त जग्गा प्रति कठ्ठा ७ लाख रुपैयाँको दरले व्यापारीहरुले हत्याएका छन् । अहिलेको बजार भाउ अनुसार उक्त जग्गा कठ्ठाकै एक करोडभन्दा बढी पर्न आउँछ ।
तर माफियाहरुले ओली सरकारलाई प्रभावमा पारेर कठ्ठाको ७ लाखमै हत्याएर प्रति विघा २० करोडमा बेच्ने तयारी थालेका छन् ।
३ सय ४३ विघा जग्गाको प्रति विघा २० करोडमा विक्री गर्न माफियाहरुले पैसा नै उठाइसकेको उच्च स्रोतले बतायो । ३ सय ४३ विघा जग्गा प्रति विघा २० करोडले हिसाब गर्दा ६८ अर्बभन्दा बढि हुने गिरीबन्धु टि स्टेट सम्बद्ध एक अधिकारीले बताए ।
गिरीबन्धु टिस्टेटको जग्गा हत्याउन कागजात मिलाउने लगायत सबै काम भने नामुद जग्गा दलाल तारा सापकोटाले गरेको उच्च स्रोतले बतायो ।
ऐन ल्याउन भूमिका खेल्ने पद्मा अर्यालले पाएको २ करोडको कोरियन गाडी बेचेर अर्को गाडीसँग सट्टा पट्टा गरेको स्रोतले बतायो ।
उनले कोरियन गाडी र स्कोरपीओ साटेकी छिन् । अर्को एक कोरियन गाडी भने अर्यालका श्रीमान लक्ष्मी पौडेलले चढ्दै आएको उच्च स्रोतले दियोपोस्टलाई बतायो ।