साम्राज्यवादीहरुको चिहान बनेको अफ्गानिस्तानको कथा : रक्तपात र युद्धको श्रङ्खलाबद्ध खेल !

दियो पोस्ट  

योगेश्वर रोमखाामी

अगस्त ३ तारिख ।


अफगानिस्तानको बामयान निवासी मेरो अफगानी साथीसँग सामाजिक सञ्जालमा कुराकानी गरेँ ।

उनले मलाई भनेका थिए,‘तालीबानीले जे गरेपनि पुरा अफगानिस्तान जित्न सक्दैन ।’


तर १५ अगस्त अनुमान भन्दा विपरित भयो ।


केहिदिन अघिसम्म अमेरिकनहरुलाई विश्वास थियो कि भियतनामको सैगोन जस्तै अवस्थाको पुनरावृति हुनेछैन । त्यसैगरि छतमा हेलिकप्टर ल्याण्ड गर्दै भाग्नुपर्ने अवस्था आउँदैन तर १५ अगस्त पछि के के भयो दुनियाँलाई थाहा छ ।

अमेरिकाको यस लज्जास्पद परिणतिको जिम्मेवार हाल अमेरिकीहरुले वर्तमान राष्ट्रपतिलाई ठहराउँदै छन् । यता रा।ट्रपति बाईडेन आफ्नो बचाउमा तर्क गरिरहेका छन् ।


‘पछिल्ला वर्षहरुमा अफगानिस्तान छाड्ने सही वा उपयुक्त समय कहिले आएन ।

एकदिन छाड्नु पर्ने थियो । त्यसकारण आज र यही समय मैले उपयुक्त ठानेँ,’ बाईडेनले भनेका थिए,‘हामी अफगानिस्तानमा विकास गराउन वा सरकारलाई स्थिर गराउन गएका थिएनौँ बल्कि त्यहाँबाट हाम्रो मुलुकमा हुनसक्ने आतंकारी आक्रमणलाई रोक्न गएका थियौं । हामीले पछिल्लो बीस वर्षमा धेरै पैसा र स्रोत साधन खर्च गर्नुपर्यो तर जो आफ्ना लागि उभिन सक्दैन त्यस्ताहरुकोलागि आफ्नो सैनिकहरुको बलिदान गर्नुको कुनै औचित्य म देख्दिनँ ।’


हुनपनि कुनै खुनखराबा रक्तपात बिनै तालिबानीहरुले काबुल कब्जा गरे । यस सम्बन्धमा अनेक खाले अड्कलबाजी चली रहेको छ ।

अमेरिकन राष्ट्रपतिले असरफ गानीलाई तालिबानीहरुसंग मेलमिलाप गर र वार्ता गर्ने प्रयास गर भन्दापनि असरफ गानी आफ्नो अडानमा कायम थिए । उनी भाग्नुअघि ठूला ठूला कुरा गरिरहेका थिए । रसियन स्रोतलाई उदृत गर्दै आएका खबरहरु अनुसार गानी भाग्दा आफुसंगै १६।९ करोड अमेरिकन डालर लिएर गएका छन् । हवाई जहाजमा नअटाउदा केहि धन एरपोर्टमै छाडनु परेको थियो । गानीले पहिला ताजिकिस्तानमा शरण लिन प्रयास गरेका थिए ।

तर, त्यहाँ अनुमति नपाएपछि युएईमा पुगेका छन् । अबुधाबीबाट उनले आफु माथि लागेको आरोपको खण्डन समेत गरेका छन् । जे होस् कलंकित ईतिहासको दाग लागेपनि गानीले आफूसँगै आफ्ना भविष्यका पुस्ताका लागि पुग्ने धन थुपारेको अनुमान छ । तर, देशको भविष्य भने लथालिंग पारेर उनी भागेका छन् ।

ईतिहासलाई वेवास्ता गर्ने र पर्याप्त सचेतनाको अभाव भएको समाजले यस्तै दूष्परिणाम भोग्नु परिरहन्छ ।


साम्राज्यवादीहरुको चिहान बनेको अफगानिस्तान


ईतिहासकारहरुले अफगानिस्तानलाई ग्रेभ यार्ड अफ एम्पायर ९साम्राज्यवादीहरुको चिहान भनेका छन ।

मध्य एसिया, मध्यपूर्व एशिया, योरोप र दक्षिण एशियालाई जोड्ने बाटो हो अफगानिस्तान । त्यसैले गर्दा अफगानिस्ताले पछिल्ला दुई हजार वर्षदेखि अनेकौं आक्रमणकारीहरुलाई झेल्नु पर्यो । यसको छातीमा बारम्बार घोडाको टाप, सैनिकहरुको पदचाप र टैंकको गडगडाहट गुञ्जिरहयो ।

ईतिहासमा सिकन्दरको महान बन्ने महत्वाकांक्षाको मुल्य यसले तिर्नुपर्यो, चन्द्रगुप्त मौर्यको सेना उता पुगे, चंगेजखानले धवस्त पारेको चिन्ह अझैसम्म बामयानमा देखिन्छ त्यस पछि आधुनिककालमा अंग्रेजी आक्रमण फेरी सोभियत र बीस वर्षसम्म अमेरिकनको अगुवाईमा नाटो फोर्सको नाममा भएको गोलाबारीको कहालीलाग्दो आतंकमाथि यहाँका जनताले रात कटाउनुपर्यो ।

बारम्बार आक्रमणकारी सेनाको आगमन र ऐतिहासिक सिल्क रोडमा पर्ने भएकोले अनेकौं ठाउँबाट विभिन्न समुदाय र कबिलाहरुको यहाँ आगमन भयो र यहाँको बासिन्दा हुनपुगे । यस ठाउँको विभिन्नताको कारण यो पनि हो ।

अफगानिस्तानलाई पूर्णतया र लामो समयको लागी कसैलेपनि नियन्त्रण गर्न सकेको ईतिहास छैन । यहाँबाट पनि प्रसिद्ध आक्रमणकारीहरु जन्मिए जसले कुनैबेला अफगानिस्तानको सिमानालाई बाहिरसम्म पुर्याए, अहमद शाह दुर्रानी ९अब्दाली०, मोहमद गोरी र महमुद गजनबीमाथि अफगानीहरुले गर्व गर्दछन् भने भारतीय ईतिहासमा समेत अमिट छाप छाडेका छन । वर्तमान ईतिहासमा सन् १९७९ देखि १९८९ सम्म दस वर्षे सोभियत युद्धको अन्त संगै सोभियत संघ कयौं पटक टुक्रियो ।

सुपर पावरको हैसियत गुमाउनु पर्यो । आज अमेरिकाको लज्जास्पद बहिर्गमन भएको छ । भारतीय समाचार च्यानले त रणछोड अमेरिका भन्दै समाचार वाचन गर्यो ।

अमेरिका विश्वसनीय रणनैतिक साझेदार होईन भन्ने कुरालाई यो अवस्थाले पुष्टी समेत गरेको छ । तर आफ्नो देशभन्दा निकै टाढा गएर सुरक्षित दुरीमा पुगेर अन्य मुलुक र ती मुलुकका जनताको बीचमा पुगेर युद्ध गर्ने र आफ्नो हतियारको परिक्षण गर्ने अमेरिका वा शक्तिशाली राष्ट्रहरुलाई यसले कुनै असर नपार्ला तर नेपाल जस्ता राष्ट्रको जनताले यसबाट शिक्षा लिनुपर्छ ।

अन्यथा यहाँबाट पनि कुनै असरफ गानी एकदिन यसैगरी समस्त नेपालीहरुलाई बिचल्लीमा पारेर टाप कसेको समाचार पढ्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।


अफगानिस्तानलाई कब्जा गर्ने प्रयासमा तत्कालीन ब्रिटिश साम्राज्यले पनि तिन पटकसम्म नराम्रोसँग पराजय र क्षति व्योहोर्नु पर्यो । सन १८३८ मा दोस्त मोहम्मद खानको शासन थियो उसलाई अपदस्त गरी शाह सुजालाई ब्रिटिशको समर्थन र सहयोगमा शासन हस्तान्तरण गरियो । शाह सुजा आधुनिक अफगानिस्तानको निर्माता र महान शासक अहमद शाह दुर्रानीको नाती थिए ।

अफगानीहरुले यस विदेशी कठपुतली सरकारलाई घृणाको दृष्टिले हेर्न थाले अफगानीहरुलाई विदेशी हस्तक्षेप वा विदेशी शासन कहिले मन परेन । सन् १८४१ सम्म आउँदा ब्रिटिशहरुमाथि कबाईली हमला शुरुभयो । ब्रिटिश सुरक्षित अवतरण गर्ने सोंचमा पुग्यो । सर विलिएम हे मेक्नेटन सन् १८०९ मा भारतमा आएका थिए र एउटा प्रशासक र डिप्लोमेटको अभिभारा निर्वाह गरेका थिए ।

भारतको कानून, समाज र भाषाको राम्रो जानकारी राख्ने उनीपछि सन् १८३७ मा तत्कालीन भारतको गभर्नर जनरल लर्ड आकलेण्डको सल्लाहकार हुन् पुगेका थिए । त्यस समयमा रसियनको अफगानिस्तानमा बढ्दो प्रभावलाई रोक्नकालागि ब्रिटिश हस्तक्षेप आवश्यक छ भनी वकालत गर्ने उनी प्रमुख व्यक्ति थिए ।


परिणाम स्वरूप प्रथम एंग्लो ( अफगान युद्ध हुने कारण बन्यो । अफगान शासक दोस्त मोहम्मदलाई हटाई ब्रिटिश समर्थक शाह सुजालाई उक्त पदमा स्थापित गराउने काममा राजनीतिक एजेण्ट सर विलिएमको भूमिका थियो । २३ दिसम्बर १८४१ मा उनलाई बन्धक बनाई अफगानहरु द्वारा उनको हत्या गरियो । त्यस बेला उनी अफगानिस्तानबाट ब्रिटिश फौज हटाउने तयारीमा थिए ।

यस प्रकार ब्रिटिश हस्तक्षेप हुनुपर्छ भन्ने मास्टरमाईण्डको अन्त भयो । ६ जनवरी १८४२ मा ८ हजार ब्रिटिश फौज र सहायकहरु सहितको १६५०० को काफिला काबुलबाट भारतको लागि प्रस्थान गर्यो तर जलालाबाद पुग्ने बेलासम्म अफगान लडाकुहरुको भिषण आक्रमणको कारण १०० जना मात्र बाँच्न सफल भएको ईतिहास छ ।

पछि शाह सुजा पनि मारिए । सन् १८४३ मा दोस्त मोहम्मद खान दोस्रो पटक सत्तामा पुगे । सन् १८७८ मा दोस्त मोहम्मद खानको पुत्र शीर अली खानको हातमा सत्ता पुग्यो र उनले ब्रिटिश अधीनतालाई अस्विकार गर्दै रसियन संग निकट सम्बन्ध राखे। यसबाट क्रोधित ब्रिटिशको आक्रमणको कारण शीर अली भाग्नु पर्यो र उनको पुत्र याकूब खानलाई ब्रिटिशले सत्तामा बसाले । याकूब खानले काबूलमा ब्रिटिश राजदुतावास राख्न मजुरी दिए र कुनैपनि विदेशीसंग संबन्ध राख्दा ब्रिटिशको अनुमति र सल्लाहबाट मात्र गर्नेछु भनि अधीनता स्वीकार गर्न पुगे ।

मई २६, १८७९ मा गरिएको यस सन्धिलाई गँदोमकको सन्धि भनिन्छ । सितम्बर ३, १८७९ मा ब्रिटिश राजदूत सर लुईस कावाग्नरी र उनको सहायकहरुको काबुलमा हत्या भयो ।

परिणामतस् ब्रिटिश फौजी हमला भयो, याकूब सत्ताबाट हटाईए र जुलाई १८८० मा अब्द अल रहमान अफगानिस्तानको अर्को अमीर ९शासक० बन्न पुगे । अब्द अल रहमानकै शासनकालमा वर्तमान अफगानिस्तानको सिमाना ब्रिटिश र रसियनहरुको सहमतीमा कायम हुन् पुग्यो ।

तेस्रो विश्व युद्ध ९१९१४-१८० को सुरुवातसंगै अफगानिस्तान र अन्य मुस्लिम राष्ट्रहरुको ओटोमन टर्कीलाई समर्थन रह्यो तर शासक हबिबुल्लाह खानको नेतृत्वमा विश्व युद्ध भरी अफगानिस्तानले आफुलाई युद्धबाट टाढा राख्ने नीति लियो । ब्रिटिश विरोधीहरुबाट फेब्रुअरी २०, १९१९ मा हबिबुल्लाह खानको हत्या गरियो, उनको पुत्र अमानुल्लाह खानको हाथमा सत्ता पुग्यो ।

आफ्नो सत्तारोहणको अवसरमा अमानुल्लाह खानले ब्रिटिशबाट पूर्ण स्वतन्त्रताको घोषणा गर्न पुगे परिणामतस् मई १९१९ मा तेस्रो एंग्लो – अफगान युद्धको सुरुवात भयो । यो लडाई प्रथम विश्व युद्धले गर्दा थकित र आर्थिक दबावमा परेको ब्रिटिश साम्राज्यसंग थियो । ८ अगस्त १९१९ मा रावलपिण्डी (वर्तमान पाकिस्तान) मा दुवै पक्षद्वारा शान्ति सम्झौता गरियो ।

यस सन्धिलाई १९२१ मा परिमार्जन गरियो । यति बेलासम्म अफगान सरकारले बोल्सेविक क्रान्ति सम्पन्न गरी आएका सोवियत सरकारसंग मित्रतापूर्ण सन्धि गरी सकेका थिए । सोभियत बोल्सेविक सरकारलाई मान्यता दिने अफगानिस्तान पहिलो राष्ट्र बन्यो, दुवैबीचको यो अद्भुत मित्रताको संबन्ध दिसम्बर १९७९ सम्म कायम रही रह्यो जुनबेला सोभियत युनियनले अफगानिस्तानको युद्धमा हस्तक्षेप गर्ने भयंकर गल्ती गर्नपुग्यो । पुर्व ब्रिटिश प्रधानमन्त्री मार्गरेट थैचरको यस संबन्धमा भनाई स्मरणीय छ “हामीले आफ्नो गल्तीबाट शिक्षा लिएका छौँ र रसियनहरुलेपनि एकदिन यस्तैगरी शिक्षा लिनेछन ।”

सन् १९३३ मा जाहिर शाह अफगानिस्तानको राजा बन्न पुगे र लामो समय ४० वर्षसम्म उनको शासन रह्यो । आफ्नै भतिजा मोहम्मद दाऊद खानद्वारा जाहिर शाह सत्ताच्युत र निर्वासित हुनु पर्यो ।

दाऊद खानले राजतन्त्रको अन्तको घोषणा गर्दै आफुलाई प्रथम राष्ट्रपति घोषणा गरे । २७ अप्रेल १९७८ मा दाउद खानको विरोधमा क्रान्ति सुरु भयो जसलाई साउर क्रान्ति भनिन्छ । विरोधीहरुको व्यापक धरपकड शुरु भयो । अप्रेल १९७८ मा दाऊद् लगायत उनको सपरिवार अधिकांश सदस्यहरुको विरोधीहरुद्वारा हत्या गरियो । पिपल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तानको संस्थापक सदस्य, एउटा जर्नलिस्ट र लेखक नुर मोहम्मद ताराकी रिपब्लिक अफ अफगानिस्तानको नयाँ शासक हुन् पुगे र अफगानिस्तानलाई डेमोक्रेटिक रिपब्लिक अफ अफगानिस्तान घोषणा गरियो । उनी कम्युनिष्ट विचारधाराका क्रान्तिकारी राजनीतिक व्यक्ति थिए ।

उनको शासनकालमा विरोधी विचारधारामाथि व्यापक दमन गरियो । १४ सेप्टेम्बर १९७९ मा उनलाई सत्ताच्युत गरियो र ८ अक्टुबरमा उनकोपनि हत्या गरियो । ताराकीको सोवीयत संघ प्रतिको झुकाव, कम्युनिष्ट विचारधारा त्यसमाथी सदियौंदेखि चलीआएको सामन्ती व्यवस्थालाई हटाउने प्रयास, भूमीसुधार नीति, बालिकाहरुलाई शिक्षित गराउने अभियान अफगानिस्तानको कबायली समाज र धार्मिक कठमुल्लाहरुलाई मन परेन ।

१५ मार्च १९७९ मा हेरात प्रान्तमा सेनाको एउटा डीभिजनले विद्रोह शुरुगर्यो । विद्रोहलाई दमन गरियो तर हारेको सैनिक हथियार सहित पहाड तर्फ भागेर गए र त्यहीबाट लडाई जारी राख्ने काम गरियो । ताराकीले १८ मार्चमा सोभियत संघको प्रधानमन्त्री अलेक्सी कोसीगिनसंग सैन्य सहयोग मांगे, सोभियत संघका प्रधानमन्त्रीले यो कदम गलत हुन् सक्छ र यसबाट अफगानिस्तान लामो गृहयुद्धमा जान सक्छ, यसबाट विदेशी संलग्नता समेत हुन् सक्ने आशंका व्यक्त गर्दापनि ताराकी आफ्नो अडानमा अडिग रहे ।

यो नै पछि दश वर्षे सोभियत अफगान युद्धको कारण बन्न पुग्यो । धन र जनको व्यापक क्षति, सोभियत संघको विघटन सहित सुपर पावरको हैसियत गुमाउने कारण यो युद्ध बन्न पुग्यो । नब्बेको शुरुवाती दशकमा रहेको सरकारको अयोग्य शासन, प्रान्तहरुमा मुजाहिदीन सरदारहरुको एकक्षत्र शासन, भ्रष्टाचार, अत्याचार, बलात्कार र बेलगाम प्रवृतिको कारण यसको विरोधमा सन् १९९४ मा पुर्व मुजाहिदीन मुल्ला मोहम्मद ओमारले तालिबानको निर्माण गर्ने काम गरे र सन् १९९६ मा काबुल कब्जा गर्न पुगे ।

सन् ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको टुईन टावरमाथिको आक्रमणको कारण अमेरिकनलाई अफगानिस्तानमा सेना परिचालन गर्ने बहाना मिल्यो । तालिबानमाथि अमेरिकाको आरोप थियो कि अल कायदाले यो आक्रमणको योजना र तयारी अफगानिस्तानको भुमिबाट गरेको थियो र यसमा तालिबान सरकारकोपनि समर्थन थियो ।

लगत्तै सितम्बर ११ को अमेरिकन हवाई हमला सहित युद्धको सुरुवात गरियो । यस अवधिमा एकमात्र सुपर पावर अमेरिका र अमेरिकाको नेतृत्वमा नाटोको संलग्नतामा चलेको बीस बर्से युद्ध १५ अगस्त २०२१ मा काबुलमा तालिबानले गरेको द्रुतगतिमा भएको ऐतिहासिक जीतसम्म जारी रह्यो । यसबीच अनेकौं आमाहरुको कोख रित्तो भयो, बच्चाहरु अनाथ र हजारौँ महिलाहरुले जीवनसाथी गुमाए ।

यसबीच हतियारको तस्करी, सत्ताको दलाली र अफीमको तस्करीबाट मानव जातीका शत्रुहरु मालामाल पनि भए र अफगानिस्तान साच्चैनै साम्राज्यवादको चिहान रहेछ भन्ने एक पल्ट पुनः प्रमाणित भयो ।

सत्ता पलट, हत्या, हिंसा र युद्धको खेल


महाशक्ति राष्ट्रहरु प्रायः जसो सिधा युद्धमा भिड्ने गर्दैनन् बल्कि टाढा अरुको घर आगनलाई युद्ध क्षेत्र बनाउने गर्दछन् । र, त्यही ठाउँमा आफ्नो शक्ति परिक्षण गर्ने गर्दछन । जसरी अहिले सिरियाको धर्तीमा अमेरिकन र रुसको बीच संघर्ष जारी छ ।

उन्नाइसौं शताब्दीको मध्यसम्ममा ब्रिटेनले भारत ९बर्तमान पाकिस्तान र बंगलादेशसहित० म्यान्मारमा कब्जा जमाई सकेका थिए र जारको शासनमा रुसी साम्राज्यपनि आफ्नो प्रभुत्व बढाउने काममा लागेको थियो । सन् १५५१ देखि सन् १७०० सम्म रुसी साम्राज्य प्रत्येक वर्ष ३५००० वर्ग किलोमिटरको रफ्तारले वृद्धि भएको थियो, जसले गर्दा ब्रिटेन जस्ता तत्कालीन शक्ति सशंकित रहन्थ्यो । रुसको सीमा अफगानिस्तानको सीमासम्म पुगेको थियो भने अफगानिस्तानलाई आफ्नो प्रभावमा पार्दै अरब सागरसम्म आफ्नो पहुँच कायम गर्ने सोंचमा थियो । यसबाट ब्रिटिश साम्राज्य आफ्नो प्रभुत्वको ईलाकामा संकट उत्पन्न हुनसक्ने खतरा टाल्न चाहन्थ्यो ।

र, रुससंग आफ्नो सिमानाको दुरी कायम राख्ने रणनीतिक प्रयासमा रहने गर्दथ्यो । १२, जनवरी १८३० मा ब्रिटिश लर्ड एलेनबोरोले एउटा अध्यादेश मार्फत भारतदेखि बुखारासम्म टर्की, पर्सिया, अफगानिस्तानको बाटो हुँदै व्यापारिक मार्ग खोल्ने घोषणा गरे । उनको उद्देश्य पर्सियन गल्फमा रहेको बन्दरगाहमाथि रुसको कब्जा हुन नदिने र अफगानिस्तानलाई बफर जोन बनाउने थियो । रुस यसलाई आफ्नो व्यापारिक र सामरिक प्रयोगको लागि नियन्त्रणमा राख्न चाहन्थ्यो र अफगानिस्तानको शासकसंग कुटनीतिक संबन्ध गहिरो राख्ने प्रयासमा थियो । बेला–बेलामा अफगानिस्तानको रुस प्रतिको झुकावको कारण ब्रिटिशले तीन पटकसम्म अफगानिस्तानमा आक्रमण गर्यो, अफगानिस्तानलाई केहि समयसम्म नियन्त्रणमा राख्ने प्रयास गरेपनि लामो समयसम्म यसलाई नियन्त्रणमा राख्न सकेन र बारम्बार लज्जास्पद हार व्योहोर्नु पर्यो । यस ग्रेट गेममा ब्रिटिश अफगानिस्तानलाई बफर जोनमा राख्न सफल चाहीँ भयो तर अफगानिस्तानले अनेकौं सत्ता पलट, हत्या, हिंसा र युद्ध व्योहोर्नु पर्यो ।

ब्रिटेनको यस रणनीतिक प्रयोगलाई ब्रिटिश खुफिया अधिकारी आर्थर कोनोलीले ग्रेट गेम भनी नामकरण गरे, यस गेमलाई रुडयार्ड किपलिंगले आफ्नो किताब “किम फ्रोम १९०४” मार्फत पाठक सामु पुर्याउने प्रयास गरेका छन् ।

शक्तिशाली राष्ट्रहरुको शक्ति संघर्षलाई गेम वा खेल भनिने गरिन्छ । अफगानिस्तानमा सोभियत संघलाई हराउने र भगाउने ग्रेट गेममा अमेरिका सफल भयो, यसमा पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको महत्वपूर्ण भूमिका थियो र तत्कालीन पाकिस्तानी राष्ट्रपति जनरल जिया उल हकले प्रभावशाली भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरि सन् २००१ को अमेरिकन सैन्य हस्तक्षेपपछि अमेरिकनलाई गुमराह गर्ने र विभीषणको भूमिका तय गर्नेपनि त्यही आईएसआईकै महत्वपूर्ण भूमिका पर्दा पछाडी थियो र यसलाई अमेरिकनहरुले पनि बारबार सवाल उठाउने गरेका थिए ।

सन् २०१४ को पाकिस्तानी टेलीभिजनको एउटा कार्यक्रममा पुर्व आईएसआईका प्रमुख हमीद गुलले खुलेआम भनेका थिए कि “हामीले सोभियत संघलाई भगायौं अमेरिकनका मदत्तले र ईतिहास साक्षी हुने छ एक दिन कि हामीले अमेरिकनलाई पनि भगाउने छौँ अमेरिकनकै मद्दत्तले ।”

जुन कुरा हाल करिब पुष्टि भयो । हमीद गुल २०१० तिरै भन्ने गर्दथे कि अमेरिकनको हार शुरु भई सकेको छ र यसमा आईएसआईका अधिकारीहरुको पूर्ण विश्वास पनि थियो । पाकिस्तानी बुद्धिजीवी डाक्टर ईसरार अहमदकोपनि भविष्यवाणी यस्तैखाले थियो ।

फेब्रुअरी २९, २०२० मा अमेरिका र तालिबानी बीच भएको दोहा शान्ति संझौतामा अमेरिकन लगायत विदेशी सेनाको चरणबद्ध रुपमा फर्किने निर्णय गरिएको थियो ।

यस भन्दा पहिलै अमेरिकन पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालमै अमेरिकन सेना फर्काउन चाहन्थे । तर उनको धारणा फरक थियो । सतहमा जुनसुकै कारण देखिएपनि अमेरिकनहरु बढदो चाईनिज प्रभाव खासगरीकन प्रशान्त महासागरीय क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने र छरिएर रहेको आफ्नो शक्ति, स्रोत र साधनलाई उक्त क्षेत्रमा एकत्रित गर्ने रणनीति अन्तर्गत पनि अफगानिस्तानबाट हाथ झिकेको हुनसक्छ । अफगान युद्धका कारण कहिले नसकिने युद्ध साबीत हुदै थियो ।

यो लडाई अत्यन्त खर्चिलो थियो बीबीसी स्रोत अनुसार सन् २०१० र २०१२ मा प्रति वर्ष लगभग १०० अर्ब अमेरिकन डलर युद्धको लागत थियो । सोभियत संघले पनि पत्येक वर्ष लगभग २ अर्ब डलरको खर्च व्योहोर्नु परेको थियो ।

अब नयाँ ग्रेट गेम अमेरिका र चिनबीच शुरु भएको छ, जसको अखाडा प्रशान्त महासागरीय क्षेत्र हुँदै भारतीय उपमहादीपसम्म केन्द्रित हुनेछ । यस ग्रेट गेमले कुन कुन क्षेत्र आहत हुने हो हेर्न बाँकीनै छ । सोभियत संघसंगको युद्धमा अफगानिस्तानबाट शरणार्थी भई बाहिरिनेको संख्या पचास लाख भन्दाबढी थियो, जसमा पाकिस्तानमा लगभग ३५ लाख र ईरानमा लगभग २५ लाख पुगेको थियो । त्यस युद्धमा मारिनेको संख्या १५ लाख भन्दा बढी थियो । टर्कीमा अफगानी शरणार्थीहरुको संख्या करिब ३ लाखको रहेको छ ।

अब्दुल सलाम जईफ पुर्व तलिबानी सरकारको पाकिस्तान अवस्थित राजदुत थिए। जईफको भनाई अनुसार अफगानिस्तानमा ६४ वटा राष्ट्रको खुफिया एजेन्सीको एजेन्टहरु सक्रिय थिए । यस भनाईलाई पत्रकार सईद नकवी, जो १९७८ देखि अफगानिस्तानमा कार्यरत छन्
। उनले भनेका छन्,‘हाल नेपाल लगायत यस क्षेत्रमै अनेक आवरणमा खुफिया एजेन्टहरु सक्रिय छन् र उनीहरुको पहुँच करीब करीब प्रत्येक निकाय र तहमा पुगी सकेको छ । यो आसन्न खतराको संकेत हो ।’

निष्कर्ष


अफगानिस्तान विभिन्न कबिलाहरुको समुदायबाट बनेको राष्ट्र हो । जसमा कुनैपनि समुदायको स्पष्ट बहुमत छैन । पश्तुनहरुको संख्या ४२ प्रतिशत छ भने ताजिक लगभग २७ प्रतिशत, हजारा ९ प्रतिशत, उज्बेक ४ प्रतिशत र अन्यमा तुर्कमेन, बलोच, एमक पर्दछन् । अफगानी हरुको वफादारी आफ्नो परिवार र कबिला प्रति देश र संस्था भन्दा बढी छ ।

लोया जिर्घा ९कबीलाहरुको सभा० को महत्वपूर्ण भूमिका हुन्छ । विगतको ईतिहासमा सुट बुट र टाई लगाउने शासकहरु र उनीहरुको स्कर्ट जस्ता पश्चिमा पोशाक लगाउने परिवारका महिला सदस्यहरु प्रति यहाँको कट्टर कबायली र धार्मिक समुदायबाट पटक–पटक आक्रमण भयो, उनी हरुलाई अपदस्त गरिए, मारिए र देशबाट भाग्नु पर्यो । बेलाबेलामा काबुल जस्ता ठुला शहरहरु पाश्चात्य संस्कृतिको प्रभावमा परेतापनि दुर दराजका गाउँ समुदायमा परम्परागत कानून र कट्टरता कायम रह्यो ।

विगतका सोभियत समर्थित कम्युनिष्ट सरकारहरुले भुमी सुधार, बालीकालाई शिक्षाको पहुँच जस्ता सामाजिक सुधारका प्रयासहरु गरेका थिए तर कबायली र धार्मीक गुरुहरुको कडा प्रतिरोध र विरोध सहनु पर्यो । यहाँको विभिन्नतालाई एक सुत्रमा बाध्ने काम अत्यन्त गाह्रो छ, त्यसैगरी एउटा स्थिर, एकजुट र सुरक्षित अफगानिस्तान बनाउनु सजिलो छैन ।

आगामी दिनहरुमा गृह युद्धको संकेतहरुपनि देखिएको छ । यसपालीको तालिबान पहिला भन्दा नरम र विदेशी राष्ट्रहरुसंण्गको संबन्धको महत्व अली बुझेको देखिन्छ । यसपालीको तालिबानले सरकारी कर्मचारीहरुलाई आममाफीको घोषणा गरेको छ भने महिलाहरुपनि काममा निस्केको र तालिबानी सरकारको विरोध सम्म गर्न पाएकोपनि देखियो । राजनीतिक र कुटनीतिक प्रभावको दृष्टिमा अफगानिस्तानमा पाकिस्तान र चीनको प्रभाव बढेको छ, ईरानपनि यसमा जोडिने छ र भारतीय प्रभाव एकदमै घटेर लगभग शुन्यमा पुगेको अवस्था छ ।

विभिन्न समाचार स्रोत अनुसार गत बुधवार कान्धार र हेरात अवस्थित भारतीय कन्सुलेटमा तालिबानीहरुले पसेर खान तलाशी गर्ने काम गरेका थिए । भारतको लगभग तीन अर्ब डलर बराबरको लगानी खेर गएको अवस्थामा छ ।

सन् २००९ र १० मा म अफगानिस्तानमा हुदा भारतीय सहयोगमा निर्माण कार्यहरु हुँदै थियो र आम जनताहरुमा भारत प्रति अत्यन्त सकारात्मक दृष्टिकोण रहेको पाएँ । यो सकारात्मक सोंच भारत प्रति कर्मचारी र राजनीतिक वृत्तमा समेत थियो जबकि उनीहरु अमेरिकन र पाकिस्तानलाई घृणा गर्दथे ।

अफगानीहरुको विचारमा अफगानिस्तानको यो हालत हुनमा पाकिस्तानपनि प्रमुख जिम्मेवार रहेको छ भन्ने खालको बुझाई थियो । चीन आफ्नो काम गर्दै थियो र चीनको बढदो प्रभावबाट अमेरिकन आशंकित थिए । अफगानिस्तानको रणनीतिक महत्व त् छदै छ तर यस बाहेक प्रचुर मात्रामा रहेको प्राकृतिक खनिज पदार्थ पनि लोभलाग्दो छ ।

आगामी दिनहरुमा चीन र पाकिस्तान तथा रुसले समेत अफ्गानिस्तान सरकारलाई आफ्नो प्रभावमा राख्न भरपुर प्रयास गर्नेछ । र, त्यहाँ शान्ति र राजनीतिक स्थिरता कायम राख्दै आफ्नो राष्ट्रहितकोलागी काम गर्ने । भारत अहिले पर्ख र हेरको अवस्थामा छ ।

वर्तमान ग्रेट गेमको नतिजा कहाँ पुग्ने हो, भविष्यले निर्धारण गर्ने छ र यसमा नेपाल कहाँ र कस्तो अवस्थामा हुने हो राजनीतिक नेतृत्वको नीति र कार्यदिशाले निर्धारण गर्नेछ ।


पूर्व एसएसपी रोमखामी लामो समय अफ्गानस्तानमा समेत कार्यरत थिए ।

सम्बन्धित खबर