काठमाडौं, ८ भदौ । ‘अरुण तरेर नाना तमोर तरेर ,आयौं हामी वीरताको गाथा कोरेर’ बोलको गीत गाउने जनवादी गायक प्रदीप देवानमाथि ठगीको आरोप लागेको छ । माओवादी युद्धकालकै कलाकार तथा हाल नेकपा एमालेको जनसांस्कृतिक महासंघकी सदस्य लक्ष्मी गुरुङले देवानमाथि १० लाख रुपैया बराबरको रकम ठगी गरेको आरोप लगाएकी हुन् ।
जनयुद्धको समयमा आफ्नो छोरी र श्रीमान गुमाएकी गुरुङले जनयुद्धताका नेकपा माओवादीले अँगालेको विचारधाराबाट प्रभावित भएर स्वतःस्फूर्त रुपमा माओवादी पार्टीमा लागेको बताइन् । उनका अनुसार जनयुद्धकै सहयात्री संगीतकार एवं गायक देवानले ‘दश लाख’ रुपैयाँ खाएर भागेका हुन् ।
“ होस्टल संचालन गर्नका लागि भनेर मसँग रकम मागेका थिए । उनको जेठी श्रीमतीको मुख हेरेर मैले भुइँचालो अगावै नै रकम दिएको हुँ । तर, उनले त्यो रकम चुक्ता गरेनन्,’ गुरुङले दियोपोस्टसँग भनिन् ।
रानीखोला, सिन्धुली घर भएकी गुरुङ र गायक देवान करिबन एक महिना एकै घर बसेका थिए । नमुना बोयज होस्टेल संचालनको क्रममा देवानले गुरुङसँग १० लाख रुपैया सापटी मागेको गुरुङको दाबी छ । तर, पटक–पटक ताकेता गर्दा पनि देवानले सो रकम फर्काउन आनाकानी गरेको गुरुङ बताउँछिन् । ‘तसँग भएको पैसा ले, ब्याज दिन्छु । तलाई पनि बाँच्न सजिलो हुन्छ भनेर प्रलोभनमा पारेर मबाट पैसा फुत्काए,’ गुरुङले भनिन् ।
यता, गायक देवान आफूले सापट मागेको सम्पूर्ण रकम चुक्ता गरिसकेको बताउँछन् । उदयपुरका स्थायी बासिन्दा हाल चाबहिलमा होस्टल चलाएर बसोबास गर्दै आइरहेका छन् ।
“माओवादी द्वन्दकाल (०५८/५९)मा नै गुरुङ बहिनीसँग मेरो भेटघाट भएको हो । बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा म स्वकीय सहसचिव थिएँ । त्यहाँबाट निस्किने बेलामा मसँग दुई चार लाख पैसा थियो । त्यतिबेला ऊ पैसा ब्याजमा लगाउने गर्दथ्यो । थप पैसा मैले गुरुङ बहिनीसँग मागेको थिएँ । १५ लाख रुपैया मैले चार वर्ष चलाएको हो । ४५ हजारको दरले मैले ब्याज तिर्ने गर्दथेँ । चानचुन हिसाब गर्दा मैले २१ लाख रुपैयाँ उसलाई दिएछु ”, देवान भन्छन् ।
विभिन्न बहानामा होटल, गाडी एवं घरमा आइ गुरुङले देवानलाई गाली गर्ने, पैसा असुल्न खोज्ने एवं सार्वजनिक स्थानमा गाली गर्ने लगायतका कामहरू पटक–पटक दोहोराएको देवान बताउँछन् । “गुरुङले भनेको कुरा शतप्रतिशत गलत छ । मलाई जहाँ बोलाउनुहुन्छ म त्यहाँ आउछु, मैले एक पैसा पनि ठगेको छैन । यो सब ममाथि कुनियतका साथ गरिएको कार्य हो । ठगी गरेको आधार फेला पर्दछ भने कानूनी कारबाहीको लागि म तयार छु,’, देवानले भने ।