पत्रकार फसाउने एसपी शाह हेडक्वार्टर तानिए, निलम्बन नगरि उन्मुक्ति दिने प्रयास

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०९, २०७८ | १२:२९:४५

दियो पोस्ट, काठमाडौं ।
रिसइबी साँध्न पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउने रौतहटका एसपी सिध्दिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
निर्दोष पत्रकारलाई लागुऔषधको अपराधमा फसाएका एसपी शाहलाई निलम्बन नगरि सरुवा गरिएको पाइएको हो । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा सरुवा गरिएको हो ।


एसपी शाहका घुमुवाले गत साउन ३२ गते रौतहट सदरमुकाम गौरस्थित ग्रीन सिग्नल होटल अगाडि पार्किङ गरिराखेको पत्रकार मोहम्मद मोजिबुल्लाको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट राखिदिएका थिए ।


मोटरसाइकलमा लागुऔषध राखेको सिसिटिभि भिडियो नै सार्वजनिक भएपछि प्रहरीले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा एसपी शाहीले पत्रकार महासंघका सदस्य सञ्जय साहनीको योजनामा लागु औषध राखेको विज्ञप्ती सार्वजनिक गरेका थिए । तर, त्यसको भोलीपल्टै उनले पत्रकार साहनीलाई फोन गरेर घटना घटाएको विषयमा काम भएछ नी भन्दै आफ्नै योजनामा गरेको पुष्टि गरेका थिए ।


अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय घटनाको अध्यन र छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ ।


एसपी शाह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री निकट मानिन्छन् । त्यसकारण उनलाई निलम्बन गर्न प्रहरी हेडक्वार्टर हच्किएको स्रोतले बतायो । प्रहरीकै मिलेमतोमा पत्रकार मोजबुल्लाहको मोटरसाइकलामा लागूऔषध राखिएको सीसीटिभी फुटेज र एसपी शाहले उक्त कार्यमा संलग्न व्यक्तिसँग गरेको टेलिफोन कुराकानी समेत सार्वजनिक भइसक्दा पनि छानबिन गर्ने भन्दै प्रहरी नेतृत्वबाटै उनलाई उन्मुक्ति दिन खोज्नुले प्रहरीमाथि नै प्रश्न प्रश्न उठेको छ ।


घटनामा सहयोगी भूमिका निभाएका घुमुवा प्रहरी सहायक निरिक्षक उदयप्रसाद यादव र जवान मनोज शाह भने निलम्बन भईसकेका छन् । यस्तै नियोजित तवरले मोटरसाईकलमा प्रतिबन्धित लागुऔषध राख्ने धिरज यादव र जितेशकुमार यादव लाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको जनाएको छ ।


निर्दोष रहेका पत्रकार मोहम्मद मुजिबुल्लाह र उनका सहयोगी शेष अतिउल्लाह रिहा भएका छन् । पत्रकार मोहम्मद मोजिबुल्लाहले हिरासतमा रहँदा प्रहरीले आफूलाई मानसिक यातना दिएको बताएका छन् । पत्रकार महासंघ रौतहटले घटनाको मुख्य योजनाकार एसपी शाहलाई निलम्बन गरि कारबाही गर्न माग गरेको छ ।

सम्बन्धित खबर