दियोपोस्ट संवाददाता
चितवन, १३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं व्यवसायी चन्द्र ढकालको कम्पनीले मौलाकालिकामा केबुलकार निर्माणका नाममा कटान गरेको सालको रुखमा व्यापक मनपरी भएको पाइएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका जाने केबुलकार निर्माणको अनुमतिसँगै उनको कम्पनीलाई मन्त्री परिषद्ले त्यहाँ रहेका रुख काट्ने अनुमति दियो । अनुमति पाएपछि ढकालको कम्पनी मौलाकालिका केबुलकार प्रालिले त्यस क्षेत्रका ५९ रोपनीमा फैलिएको रुख काट्यो ।
जहाँ ८२० वटा साल तथा २१८ वटा अन्य जातका रुख सहित एक हजार ३८ वटा रुख काटियो । कम्पनीले ईआईए (वातावरणीय प्रभाव मूल्याङ्कन) गरेर मन्त्रालयमा फाइल बुझाएपछि सरकारले कम्पनीलाई केबुलकार सञ्चालनका लागि रुख काट्ने अनुमति दिएको थियो ।
केबुलकार सञ्चालनका लागि धार्मिक वन र सामुदायिक वनको गरी ८०० बढी साल सहित एकहजार ३८ वटा ठूला रुख काटेको वरिष्ठ उपाध्यक्ष ढकालको कम्पनीले सट्टाभर्ना स्वरुप स्थानीय जातको रुख रोपेर उम्किन पाउने भएको छ ।
गैँडाकोटमा हुर्किएका ठूला सालका रुख काटेको ढकालको कम्पनीले हालको बौदिकाली–१ मा ५९ रोपनी क्षेत्रमा स्थानीय जातको खयर, बकाइनो लगायतका रुखहरु रोपे पुग्ने भएको छ ।
कम्पनीले रुख रोपेर पाँच वर्षसम्म हुर्काएर सरकारलाई हस्तान्तरण गर्नुपर्नेगरी सम्झौता भएको डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत मोहनराज काफ्लेले बताए ।
केबुलकार निर्माणका लागि रुख कटान भएको क्षेत्र सामुदायिक वन र धार्मिक वनको भएका कारण त्यहाँको काठहरु वन समितिले नै प्रयोग गर्ने काफ्लेको भनाइ छ ।
ढकालको कम्पनीले काटेको एक रुख बराबर १० रुख रोप्नुपर्ने गरी सम्झौता भएको काफ्लेले बताए । यद्यपि ५९ हेक्टरको रुख काटेर ५९ हेक्टरमा नै रुख रोप्दा १ः१० को अनुपात सम्भवन नहुने संरक्षणकर्मीहरु बताउँछन् ।
वन क्षेत्र घट्न नदिन सोही क्षेत्रफलको अनुपातमा वृक्षरोपण गर्नुपर्ने काफ्लेको भनाइ छ ।
वन क्षेत्र फँडानी गरेर निजी कम्पनीको स्वार्थका लागि केबुलकार सञ्चालन गर्न दिन नहुने भन्दै संरक्षणकर्मीहरुले विरोध जनाए पनि कम्पनीले काम अगाडि बढाइरहेको छ ।
ढकालको कम्पनीले स्थानीयलाई समेत साझेदार बनाउने भन्दै फकाएर उनीहरुको समर्थनमा रुख कटान गरेर आफ्नो काम अगाडि बढाइसकेको छ ।
सरकारसँग भएको सम्झौता अनुसार ढकालको कम्पनीले काम नगरेको अवस्थामा २५ वर्षपछि कम्पनीको नवीकरण नहुने काफ्लेले बताए । ‘सरकारले २५ वर्षका लागि केबुलकार सञ्चालन गर्न सहमति दिएको हो’ काफ्लेले भने, ‘ढकालको कम्पनीले सहमतिअनुसार काम नगरेको खण्डमा २५ वर्षपछि कम्पनीको म्याद थप हुँदैन ।’
उक्त कम्पनीले केबुलकार निर्माणका लागि केन्द्रविन्दुबाट १०/१० मिटरको दूरीमा रुख छपान गरेर काटेको थियो