काठमाडौं, १४ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई भाञ्जी नाता पर्ने समिक्षा संग्रौला ज्ञवालीले मृगौला दान गरेपछि ओलीले दोस्रो जीवन पाए । शिक्षण अस्पतालमा भारतीय र सिंगापुरका चिकित्सक बोलाएर राजधानीको शिक्षण अस्पतालमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो ।
नेकपा एमालेकै अर्का नेता तथा पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि आफन्तकै सहारामा दोस्रो जीवन पाएका छन् । उनलाई मेरिना चित्रकारले मृगौला दान गरेको दिल्लीबाट खनालले सार्वजनिक गरेका छन् । खनाल पत्नि रवि लक्ष्मी चित्रकारकी दिदिको छोरी मेरिनाले मृगौला दान गरेकी हुन् ।
‘चिकित्सकले किड्नी ट्रान्सप्लान्ट गर्ने भनेपछि म दाता खोज्दै थिएँ । त्यही बेला मेरी श्रीमतीकी दिदिकी छोरी मेरिना चित्रकारले आफैँ सम्पर्क गरिन्,’ खनालले आइतबार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा भनेका छन्,‘यस्ता दाता अत्यन्तै दूर्लभ हुन्छन् । मेरिनाले मलाई दोस्रो जीवन दिएकी छिन् ।’
खनालले आफू उपचारका लागि काठमाडौंबाट दिल्ली हिँड्दा बाँच्छु भन्ने समेत नलागेको बताएका छन् ।
‘काठमाडौंबाट उपचारका निम्ति हिँड्दा म अब फर्किन्छु कि फर्किन्नँ भन्ने लागेको थियो । यहाँ आएपछि तुरुन्तै एपोलो अस्पतालमा भर्ना भएँ । जुन १६ तारिख यहाँ आइपुगें, जुन १८ देखि डायलिसिस सुरु गरें । डायलिसिसले पनि मलाई खासै ठीक गर्न सकेन । अन्ततः किड्नी ट्रान्सप्लान्टको योजना बनाउनैप¥यो,’ कान्तिपुर दैनिकका लागि राजेश मिश्रले सोधेको प्रश्नमा उनले भनेका छन्,‘१५/२० दिनजस्तो भयो, ट्रान्सप्लान्ट गरेको । त्यसपछि मेरो स्वास्थ्य आमुलचुल रूपले परिवर्तन भएको छ । म अब पहिलाभन्दा धेरै राम्रो अवस्थामा छु । नर्मल लाइफमा फर्किंदैछ । मैले प्रोफिटको लाइफ पाएको छु । अब मेरो जीवनलाई देश, जनता, लोकतन्त्र, शान्ति र समाजवादका लागि समर्पित गर्नेछु ।’