वाईसिएलमा नेतृत्व विवाद : सुवोध श्रीपाली र सुमन देवकोटाबीच प्रतिष्पर्धा !

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र १४, २०७८ | १२:५९:५५

काठमाडौं, १४ भदौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसिएल)को नेतृत्वमा दुई नेताबीच प्रतिष्पर्धा देखिएको छ ।


यसअघि महासचिव रहेका सुवोध श्रीपाली र उपाध्यक्ष सुमन देवकोटाबीच प्रतिष्पर्धा भएको हो ।

उनीहरुबीच नेतृत्वको विषयलाई लिएर विवाद भएपछि विवाद मिलाउने प्रयास विफल भएको छ । शनिबार राजधानीको एक होटलबाट भर्चुअल माध्यमबाट वाईसिएलले राष्ट्रिय भेला उद्घाटन गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलाको उद्घाटन गरेका थिए ।


अध्यक्ष प्रचण्डले भेलामा सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, भेलाको ३ दिनसम्म पनि नेतृत्वको विषयलाई लिएर वाईसिएलमा विवाद छ । स्रोतका अनुसार अध्यक्षमा प्रत्यासी देवकोटामा ल्याउन उच्च नेतृत्वको दाबाव छ ।

तर कार्यकर्ता तहमा भने महासचिव रहेका सुवोध श्रीपालीलाई अध्यक्ष बनाउनुपर्ने माग चर्को उठेको छ ।

उनी महासचिव रहँदा कार्यकर्तामा भिजेको र यसअघि महासचिवबाटै राम प्रसाद सापकोटा दीपशिखा अध्यक्ष बनेका कारण फेरी महासचिवबाटै नेतृत्वमा ल्याउनुपर्ने माग कार्यकर्ताको छ । वाइसिएलको उमेर हदका कारण यसअघि बादल समुहबाट माओवादीमा फर्किएका सुदीप तामाङ ‘विरु’ भने संगठनबाट बाहिरिने भएका छन् ।


विवाद चर्को भएपछि नेताहरुले हिजो आइतबार प्रचण्ड निवास खुमलटारमा गएर समेत छलफल गरेका थिए ।

तर, छलफलमा कुनै निष्कर्श निस्किएको छैन । विशेषगरि संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले आफ्नै गृहजिल्लाका सुवोध श्रीपाली नेतृत्वमा देख्न नचाहेको आरोप छ ।

त्यस्तै अर्का नेता वर्षमान पुन अनन्तले भने कार्यकर्ताको मागलाई सम्बोधन गर्नुपर्ने अडान राखेको बताइन्छ ।


आइतबार बन्द शत्रमा हाल अध्यक्ष रहेका राम प्रसाद सापकोटा दीपशिखाले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित भएको छ । उक्त प्रतिवेदन अनुसार वाईसिएलको आगामी पदाधिकारी संख्या ३५ जनाको हुने छ ।

त्यस्तै तीनवटा केन्द्रीय आयोग निर्माण गर्ने निर्णय समेत पारित भएको छ । वाईसिएलको केन्द्रीय समिति सदस्य संख्या समेत २ सय ३१ जनाको हुने प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।

सम्बन्धित खबर