काठमाडौं । आफूलाई सिइओ र निर्देशक दुवै पदमा आसिन गराउँदै आएका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सुरेन्द्र भण्डारी गैरकानुनी रुपमा पदमा रहेको पाइएको छ ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ४ विपरित भण्डारी अवैध रुपमा पदमा रहेको छ । स्थापनाकालदेखि नै सहकारीको प्रमुख कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत रहँदै आएका भण्डारी सहकारी ऐन जारी भएको चार वर्षमा स्वत पदबाट हट्नु पर्ने हो ।
उक्त ऐन अनुसार वार्षिक २ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने सहकारी संस्थामा कुनै पनि संचालक कर्मचारी रहन पाउँदैनन् । २०७४ मा ऐन जारी भएको चार वर्ष भित्र पदबाट हट्नुपर्ने उल्लेख छ । तर, ऐन जारी भएको ५ औँ वर्षमा पनि भण्डारी पदबाट हटेका छैनन् । उनी सहकारीका संचालक तथा सचिव हुन् । उनी सिइओ र निर्देशकको रुपमा रहेका छन् ।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको वेभसाइटमा जनाइए अनुसार अध्यक्ष अमरदास श्रेष्ठ छन् । उपाध्यक्षमा हजुरी विष्ट छिन् । सुरेन्द्र भण्डारी सञ्चालक समितिको सचिव तथा सिइओ छन् । यसरी दुवै पदमा एकै व्यक्ति रहनु ऐनको बर्खिलाप हुन जान्छ ।
उनले सिइओको हैसियतमा पत्र काट्ने र सुचना जारी गर्ने गरेका छन् । यता कम्पनि सचिव र संचालक समितिको हैसियतमा वार्षिक साधरण सभाको आह्वान गर्ने काम समेत गरेका छन् ।
सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले यस विषयमा आफूहरुले सहकारीका सम्बन्धित व्यक्तिलाई बोलाएर बुझ्ने बताए । ‘पहिले हामीले सहकारीका सम्बन्धित व्यक्तिलाई बोलाएर बुझ्छौँ । एउटा पद छोड भनेर सुझाव दिन्छौँ । यदि दुवै पदमा बस्छु भन्यो भने मौजुदा कानुन अनुसार कारबाही गर्ने विभागले हो,’ उनले भने ।