धादिङ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ड मधुकर दाहालको निर्देशनमा अस्पतालकै एक डाक्टरसहित प्रशासनका कर्मचारी निर्घात कुटिएका छन् ।
ज्यामरुङ घर भएका ईमरजेन्सी ईन्चार्ज छैटौँ तहका कृष्ण लम्सालको बर्थडे पार्टीमा सहभागी भएका डा. रेशम नेपालीमाथि कुटपीट भएको हो ।
मधुकरले समेत मदिरा पिएर निजी चालकलाई कर्मचारी र डाक्टरमाथि आक्रमण गर्न लगाएको स्रोतले जनाएको छ । मधुकरका चालक रुपेश लम्साल र एम्बुलेन्स चालक प्रेम अधिकारीले प्रशासनका कर्मचारी विक्रम विश्वकर्मा र डा. नेपालीमाथि आक्रमण गरेको स्रोतले जनाएको छ ।
जिल्ला अस्पताल नजिकै रहेको निलकण्ठ होटलमा उनीहरुको जमघट भएको र डा. मधुकरले शुरुमा विश्वकर्मालाई आक्रमण गर्न निर्देशन दिएको होटलका एक कर्मचारीले बताए ।
अस्पतालमा एम्बुलेन्स चालकको रुपमा जागिर खाएका अधिकारी ज्वालामुखि ५ खरिमा सञ्चालित कालिमाटी एम्बुलेन्स सञ्चालक समेत रहेको उनै अधिकारीले मेडिकल सुपरिटेन्डेन्ट दाहालको निर्देशनमा आक्रमण गरेको घटनाबारे जानकार एक प्रहरी अधिकारीले बताए ।
आक्रमणपछि मेसु दाहाल भागेर कोठामा पुगेर लुकेको स्रोतले जनाएको छ । ‘उहाँ आफै समलग्न भएर घटना भएपछि उहाँ त भागेर कोठामा जानु भएछ । म कतै समलग्न छैन भन्दै उहाँ भाग्नु भएछ,’ एक प्रहरी कर्मचारीले भने ।
आक्रमणमा परि डा. नेपालीको आँखा र घाँटीमा चोट लागेको छ । घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयका एक अधिकारीलाई सम्पर्क गर्दा रुपेश लम्साल र प्रेम अधिकारीलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरु दुवै जना अहिले प्रहरी हिरासतमा छन् ।
स्रोतका अनुसार मेसु दाहालले डाक्टर र कर्मचारीलाई आक्रमण गर्न बाहिरबाट गुण्डा समेत बोलाएका थिए ।
घटनाबारे प्रतिक्रिया लिन मेसु दाहाललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । घाइते भनिएका अस्पतालका सुचना अधिकारी समेत रहेका विक्रम विश्वकर्मालाई सम्पर्क गर्दा उनले आफू विरामी परेर आराम गरिरहेको बताए ।
अर्का घाइते डा. नेपालीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।