
खुमा वली
रौतहट । गत साउन २२ गते बेलुका ५ बजेतिर रामाकान्त दास आफ्नो घरबाट मोटरसाईकल लिएर गाउँ घुम्न निस्के । सो मोटरसाईकलमा गाउँकै साथी शेख सदामलाई चढाएर नजिकैको विद्यालयतर्फ लागे । सोही क्रममा चन्द्रपुर ३२ मा घर भएका शेखरानन्द दास (नाम परिर्वतन)सँग भेट भयो । शेखरानन्द दास काठमाडौं स्थित ओरियन्ट कलेजमा अध्ययनरत छात्र हुन् । उनी कक्षा ११ को परीक्षा दिएर विगत ३ महिनादेखि गाउँमै थिए । आर्थिक रुपमा कमजोर रहेका उनको बा–आमासँग खर्च माग्न उनलाई असहज लाग्थ्यो । गाउँ नजिकै चिनजानका साथी महमद सेराज अलमलाई सम्झिन पुगे । त्यसपछि आलमसँगै अलिकति पैसा सापटी मागेर काम चलाउने भन्दै दास र सेराजालाई मोटरसाइकलमा बगही गाउँ जाऊ भनि अनुरोध गरे । गाउँ घुम्न आएका दास र सदामले पनि यो कुरा सहजै स्वीकार गरे । शेखरानन्दले बयानमा भनेका छन्, “गत साउन २२ गते बेलुका ५ बजेको समयमा म गाउँकै स्कुल नजिक पैदल घुमफेर गरी रहेको थिएँ ।
सोही बखत मेरै गाउँटोल घर हुने रामाकान्त दासले चलाएको बी.आर ०६ बी ए ७०९३ नम्बरको मोटरसाईकलमा हामै गाउँका शेख सदाम बसी स्कुलतर्फ घुम्न आएकोमा मैले निजहरुलाई रोकि बगही गाउँ तिर घुम्न जाउँ सो गाउँमा घर हुने मेरो साथी महमद सेराज आलमसँग सापटी रुपैयाँ माग्छु ।” त्यसपछि उनीहरु ३ जना एउटै मोटरसाईकलमा चढेर बगही गाउँतर्फ लागे । उनीहरु बगही गाउँ पुग्दा बेलुकाको साढे ६ बजिसकेको थियो । गाउँ पुगेपछि शेखरानन्दले साथी आलमसँग भेटेर गफगाफ गर्दै अहिले आफूसँग पैसा नभएको कुरा सुनाए । र उनले खर्च गर्न समस्या भएको हुँदा तिमीसँग भए मलाई ५ हाजर रुपैयाँ देऊ भने । त्यसपछि आलमले शेखरानन्दलाई एकछिन यही बस म एकछिनमा पैसा लिएर आउँछु भन्दै गए । ५ मिनेटपछि आलम ५ हजार रुपैयाँ लिएर पनि आए । र शेखरानन्दलाई दिए । त्यसपछि रामाकान्तले चलाएको मोटरसाईकलमा बसेर तीन जना त्यहाँबाट नुनथरस्थित महादेवको मन्दिर जान भनेर निस्किए । सोही क्रममा रातिको समयमा बाटो भुलेर ढिलो भइसकेको हुन्छ । ढिला भएपछि उनीहरु नुनथर नगई अब घर फर्किने निर्णय गर्छन् ।
रामाकान्त दासले आमा बुवाले गाली गर्नुहुन्छ भन्दै अब घर फर्किने भनेर आफ्नै गाउँ तिर लागे । घर फर्कदा बाटोमा तिर्खा लागेर पानी र गुटखा खाने भनेपछि उनीहरु रौतहटको चन्द्रपुर नगरपालिका–१० बक्तौरा टोलतिर लागे । बक्तौरा टोलस्थित रहेको पसल अगाडि मोटरसाइकल रोके । मोटरसाइकलबाट ओर्लेपछि शेखरानन्दल एकछिन अघि साथी आलमबाट सपटी मागेर ल्याएको ५ हजार रकम मध्ये १ हजार रुपैयाँ निकालेर रामाकान्त दासलाई पसलमा गएर मिनिरल वाटर र राजनिवास गुटखा किनेर ल्याउ भनेर अह्राउन पुगे । दास पसल गएपछि शेख सदाम र शेखरानन्द दास रामाकान्तलाई पसल छेउमा कुरेर बस्छन् । रामाकान्तले पसलमा सामान किन्ने क्रममा १ हजारको नोट दिँदा पसलवालाले सो नोट नक्कली भएको भन्दै दासलाई त्यहीँ रोके ।
शेखरानन्दले भनेका छन्, “सो नोट नक्कली हो भन्ने थाहा पाएपछि पसलवालाले हामीलाइै कहि कतै जान नदिइ प्रहरीलाई खबर गरेकोमा प्रहरी टोली आई हामीहरुको शरीर खान तलासी गरी रामाकान्त दासको साथमा रु १ हजार र बाँकी रहेको रु ४ हजार मेरो साथबाट बरामद गरी हामीहरु चढी आएको मोटरसाइकल समेत नियन्त्रणमा लिइ हामी दुबै जनालाई पक्राउ गरी ल्याएको हो । ”
यता बिगत ४ बर्षदेखि जिल्लाको चन्द्रपुर नगरपालिका–१० बक्तौरा टोलस्थित आफ्नै घरमा किराना पसल गर्दे आएका तपेश्वर साह र शेखरानन्द दासले दिएको बयान मिल्दो जुल्दो छ । साहले भनेका छन,“गत साउन २२ गते रातिको १० बजेको समयमा म आफ्नो पसलमा रहेको अवस्थामा एउटा ईण्डियन नम्बरको मोटरसाइकलमा तीनजना व्यक्तिहरु सवार भई मेरो पसल अगाडि आएर रोकी निजहरु मध्येका १ जना व्यक्ति प्रतिवादी रामाकान्त दासले मेरो पसलमा आई १ हजार रुपैयाँ दिइ मिनिरल वाटर र राजनिवास पान पसाला मागेकोमा मैले सो नोट लिई हेर्दा सक्कली नभई नक्कली नोट जस्तो लागेर तत्काल मेरो पसल नजिक रहेका मानिसहरुलाई बोलाएको हुँ । त्यसपछि प्रहरीलाई पनि खबर गरेकाले एकछिनमा प्रहरी टोली पनि आएर उनीहरुको खान तलासी गर्याे । तलासीकै क्रममा मलाई दिन खोजेको रु १ हजार रामाकान्त दासको साथबाट र बाँकी ४ हजार शेखरानन्द दासको साथबाट बरामद गरेको हो । साथै उनीहरु चढी आएको मोटरसाइकल सहित उनीहरु दुईजनालाई पक्राउ गरी लिएको हो । ”
साथै प्रतिवादी रामाकान्त दासको बयान पनि शेखरानन्द र पसलवाला तपेश्वर साहसँग मिल्दो छ । रामाकान्त दासले बयानमा भनेका छन्,“मैले शेखरानन्द दास र शेख सदामलाई मेरो आमाले कराउनु हुन्छ, अब नुनथर नगई घर जाउँ भनि बाचनपुर हुँदै घरतर्फ जाने क्रममा हामीलाई तिर्खा लागेको र राजनिवास गुट्खा खान मल लागेकोले बालचनपुर देखि नजिकै रहेको बक्तौरा टालमा एउटा किराना पसल अगाडी आई मोटरसाइकलबाट ओर्लियौँ । त्यसपछि मलाई शेखरानन्दले रु १ हजारको नोट दिएर तिमी पसलमा गइ एउटा मिनिरल वाटर र राजनिवास गुटखा लिएर आउ भने । सोही नोट नक्कली भन्दै पसलवालाले हामीलाई कतै जान दिएनन् । एकछिनमै प्रहरी टोली आएर हामीलाई तलासी लियो । तलासीकै क्रममा म बाट रु १ हजार नेपाली रुपैयाँ र शेखरानन्दबाट बाँकी ४ हजार रुपैयाँ सहित हामी चढी आएको मोटरसाइकल पनि नियन्त्रणमा लियो । साथै हामी दुई जनालाई पक्राउ गरी ल्याएको हो ।”
पैसा सापटी दिने महमद सेराज आलम र साथमा हिडेका शोख सदाम फरार छन् । साथै मुद्दाको कानुन विवादमा परेका बालक शेखरानन्द दास (नाम परिर्वत) को हकमा अदालतमा छुट्टै अभियोग पत्र पेश गरिएको छ । उक्त मुद्दा समेत साथै राखी आवश्यक कारबाहीका लागि माग गरिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार खोटा मुद्र चलन गर्न नहुने धारा २५७ को दफा २ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवान हुने छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीहरुलाई नक्कली नोट कारोबारीको व्यावहार गरेर अभियोजन गरेको छ ।