
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जना व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेल रहेका छन् । उनलाई वचतकर्ताहरुले रकम ठगी गरेको भनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल सहितको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट सोमबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।