काठमाडौं । विभिन्न ठाउँबाट हत्या गरेको आरोपमा २ जना वृद्ध पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा हत्या गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङ रहेका छन् । तामाङले सोही आश्रम बस्ने मकवानपुर भिमफेदी गाउँपालिका–४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेका थिए । जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
यसैगरी रसुवामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ रेडपाण्डा चोकस्थित भुकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामी रहेका छन् । सुलालले ७१ वर्षीया श्रीमती सिता कामीको कुटपिट गरी हत्या गरेका थिए । सिता कामी आवास स्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा सुलाल कामीले हत्या गरेको भन्ने खुल्न आएपछि सुलाललाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।