छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय संजय नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ४४ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरी शम्भुनाथ नगरपालिका–६ बस्ने १९ वर्षीय शिवम गुप्ता र विराटनगर महानगरपालिका–१४ बस्ने २५ वर्षीय शिब कुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवमलाई २ ग्राम ८ मिलिग्राम र शिबलाई ३६ मिलिग्राम उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी धादिङको धुनीबेशी नगरपालिका–८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५० ग्रामसहित २ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ थानकोट बस्ने २३ वर्षीय जिवन लामा र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

साथै झापाको झापा गाउँपालिका–२ झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हक रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी झापाकै बिर्तामोड नगरपालिका–१ कन्चनजंघा टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँस्थित बिमला होटल एण्ड लज संचालन गरी बस्ने मेचिनगर नगरपालिका–१२ घर भएकी ४० वर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका–७ घर भएका २९ वर्षीय रूजन चौधरी रहेका छन् । बिमलाले लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका–८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित सोमबार राति पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर