संखुवासभामा कैदी मृत्यु प्रकरणः ७ प्रहरी र ८ क‍ैदीबन्दीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

दियो पोस्ट  

संखुवासभा । संखुवासभा कारागारमा कैदी मृत्यु भएको घटनामा ७ प्रहरी र ८ कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

संखुवासभा अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले कैदी मृत्यु प्रकरणमा संलग्न १५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए।

हत्यामा नाम जोडिएका १५ अभियुक्तसँग अदालतले मङ्गलबार बयान सकाएपछि बुधबार थुनछेक बहस सुरू भएको थियो। बहसपछि न्यायाधीश गौतमले १५ जनालाई थुनामा पठाउन आदेश गरेका हुन्।

अदालतले अभियुक्तहरूलाई नजिकै पर्ने अन्य जिल्ला कारागार पठाउन आदेश गरेको छ।

आदेशअनुसार अभियुक्तमध्ये ७ जना प्रहरीलाई धनकुटा कारागार पठाइएको छ।

कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरूङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जिल्ला कारागार धनकुटा पठाइएको छ।

त्यस्तै, अभियुक्त कैदीबन्दीहरू चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई जिल्ला कारागार तेह्रथुम पठाइएको हाे ।

संखुवासभा कारागारमा गत साउन २४ गते मादी नगरपालिका–५ फेलेदैका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय विकास श्रेष्ठ मृत भेटिएका थिए।

उनीहरू दुबै जनाले राति सवा १ बजे कारागारबाट भाग्ने प्रयास गरेका थिए। तर प्रहरीले नियन्त्रणमा लिएर उनीहरू दुबै जनामाथि कुटपिट गरी पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो।

कारागारमा पुर्‍याइएपछि त्यहाँ रहेका कैदीबन्दीहरूले पनि उनीहरूमाथि कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको छ।